काठमाडौं- पाँच दिनअघि सार्वजनिक भएको बलिउड नायिका करिना कपुरको पुस्तक ‘प्रेग्नेन्सी बाइबल’ विवादमा परेको छ। पुस्तकको नाममा बाइबल जोडिएकाले क्रिश्चियन धर्मावलम्बीले यसको बिरोध गरेका हुन्।
पुस्तकको पछाडि बाइबल राखेकै कारण यो विवादमा आएको हो। महाराष्ट्र बीड शहरमा अवस्थित ओमेगा क्रिश्चियन महासंघले पुस्तकविरुद्ध प्रहरीमा उजुरी समेत दिएको छ।
महासंघका अध्यक्ष आशिष सिन्देले करिनासहित अन्य २ जना व्यक्तिविरुद्ध धार्मिक भावनामा आहात पारेको भन्दै उजुरी दिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।
तर, यसको खण्डन गर्दै करिनाले भने प्रेग्नेन्सी र गर्भावस्था बाइबल भएको बताएकी छन्। उनले भनेकी छन्, ‘यो मेरो बाइबल हो, यात्रा हो । केही राम्रा दिन र केही खराब दिन आए यी अवधिमा।’ उनले भनेकी छन्, ‘गर्भवती भएको छोटो समयमा नै काममा जान आतुर थिएँ तर त्यो समयमा म आफ्नो ओछ्यानबाट उठ्न समेत सकेकी थिइनँ।’
करिनाले प्रेग्नेन्सी बाइबल नामको पुस्तकले गर्भावस्थामा शारीरिक र मानसिक भावनाको उजागर गरेको बताएकी छन्। उनले पुस्तक सार्वजनिक गर्दा यसलाई तेस्रो सन्तान जन्माएको बताएकी थिइन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।