काठमाडौं- ट्राफिक प्रहरीका असई मणिकान्त झालाई ३ हजार रुपैयाँ घुस दिन खोज्ने स्कुटर चालक पक्राउ परेका छन्। ट्राफिक प्रहरी वृत्त महाराजगञ्जमा कार्यरत रहेका झालाई जाँचको क्रममा स्कुटर चालक सुनिल पौडेलले ३ हजार घुस दिन खोजेपछि उनी पक्राउ परेका हुन्।
उनलाई कारबाहीका लागि प्रहरी वृत्त महाराजगञ्ज पठाइएको छ। बुधबार राति पौन ९ बजेतिर महाराजगञ्ज सडकखण्डमा ड्युटीमा खटिएका झाले प्र ३-०२–००४ प ५७४३ नम्बरको स्कुटरलाई रोकी जाँच गरेका थिए। जाँचका क्रममा चालक पौडेलले मादक पदार्थ सेवन (मापसे) गरेको पाइएको थियो। सो क्रममा प्रहरीलाई ३ हजार घुस दिएर उम्कन खोज्दा उनी पक्राउ परेका हुन्।
३ हजार घुस दिन खोज्नेलाई पक्राउ गर्ने असई झाले निषेधाज्ञाको समयमा बिना पास सवारी चलाएको भन्दै यसअघि अभियन्ता दाबी गर्ने ज्वाला संग्रौलाको सवारी रोकेका थिइन्। सो क्रममा संग्रौलाले झामाथि रंगभेदी दुर्व्यवहार समेत गरेकी थिइन्।
जातीय विभेद गरेको भन्दै झाले प्रहरीकहाँ उजुरी समेत दिएका थिए। त्यसपछि पक्राउ परेकी संग्रौला गत मंगलबार मात्रै साधारण तारेखमा रिहा भएकी थिइन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।