काठमाडाैं- साफ च्याम्पियनसिपको तयारीमा रहेको राष्ट्रिय फुटबल टिमको क्यालोज क्याम्पबाट १४ खेलाडी बाहिरिएका छन्।
प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले बुधबार दोस्रो चरणमा क्याम्पमा रहेका ५० खेलाडीबाट ३६ खेलाडी छनोट गरेका हुन्।
आगामी सेप्टेम्बरमा हुने भनिएको साफ च्याम्पियनसिप र अर्को वर्ष हुने एसियन कपको अन्तिम चरणको छनोटका लागि नेपालले अहिले प्रशिक्षण गरिरहेको छ।
प्रशिक्षक अलमुताइरीले शुरुमा ५० खेलाडीलाई क्याम्पमा बोलाएका थिए। यसअघि विश्वकप छनोटको अन्तिम टोलीमा रहेका युवा गोलरक्षक विशाल सुनार क्यालोज क्याम्पबाट बाहिरिएका छन्।
विशाल नेपालले पछिल्लो पटक कुवेतमा विश्वकप छनोटका खेल खेल्दा टिममा थिए। पहिलो पटक टिममा परेका उनले डेब्यु गर्न भने पाएनन्।
यस्तै, डिफेन्डर अमित तामाङ, विवेक बस्नेत, गौरव बुढाथोकी, निरज बस्नेत र निशान खड्का पनि बाहिरिएका छन्। मिडफिल्डर डोना थापा, मिक्छेन तामाङ, रवी पासवान र सेसेहाङ आङदेम्बे पनि बाहिरिएका छन्।
फरवार्ड दर्शन गुरुङ, प्रेजेन तामाङ, सुदिल राई र शिशिर लेखी पनि पहिलो चरणबाट नै बाहिरिएका छन्।
दर्शन, मिक्छेन, निशान,रवी र सेसेहाङ आङदम्बेले नेपालकाे राष्ट्रिय टाेलिबाट खेलिसकेका छन्।
मिडफिल्डर विक्रम लामा टोलीसँग नै प्रशिक्षणमा छन्। कतारमा शल्यक्रिया गराएर नेपाल आएपछि उनी म्याच फिटनेसका लागि प्रशिक्षण गरिरहेका छन्। उनी पूर्ण फिट भएको खण्डमा छनोटका लागि योग्य हुने एन्फाले जनाएको छ।
साफ च्याम्पियनसिप आयोजना भने अन्यौलमा नै रहेको छ। बंगलादेशले आयोजना नगरेको खण्डमा नेपाल र श्रीलंकाले आयोजना गर्न दावेदारी प्रस्तुत गर्ने छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।