कैलाली - गत फागुनको पहिलो साता गौरीगंगा नगरपालिका वडा नम्बर ५ मा देखिएको पाटेबाघलाई सिकारीले मारेको पुष्टि भएको छ। मोहन्याल गाउँपालिका वडा नम्बर ५ सालघारीका स्थानीयले पाटेबाघको छाला बेच्न खोज्दा प्रहरीले पक्राउ गरेपछि सोही बाघ मारेको पुष्टि भएको हो।
प्रदेश अनुसन्धान व्युरो (आरटीआई) र जिल्ला प्रहरी कार्यालय कैलालीको संयुक्त टोलीले मंगलबार बेलुकी मोलमोलाई गरेर किन्ने बहाना गर्दै बाघको छालासहित दुई जनालाई पक्राउ गरेको हो। १० फिट १ इन्च लामो बाघको छालासहित प्रहरीले मोहन्याल गाउँपालिका वडा नम्बर ५ सालघारीका ५२ वर्षीय पूर्णबहादुर बुढामगर र उनकै ज्वाइँ नाता पर्ने लम्कीचुहा नगरपालिका वडा नम्बर १ घर भएका ३० वर्षीय लोकेश सिजापतीलाई पक्राउ गरेको हो।
प्रहरीको अनुसन्धान टोलीले ३० लाख रुपैयाँमा खरिद गर्ने भन्दै मोलमोलाई गर्ने क्रममा गौरीगंगा नगरपालिका वडा नम्बर ७ को सिंहासन सामुदायिक वन परिसरबाट उनीहरुलाई पक्राउ गरेको हो।
गत फागुन २ गते गौरीगंगा नगरपालिका–५, अण्डैयाकी २५ वर्षीया कला धामीलाई पाटेबाघले आक्रमण गरेको थियो। बाघको आक्रमणबाट धामीको घटनास्थलमै मृत्यु भएको थियो।
सोही समयदेखि बाघ सो क्षेत्रमा डुलिरहेको थियो। माघ ३० गते कैलारी गाउँपालिकाको दुधियामा देखिएको पाटे बाघ दोस्रो दिन मसुरियाको बढैपुर जंगल हुँदै अण्डैया पुगेको थियो। अण्डैयामा दुई दिन बिताएको बाघ मट्कौनाको जंगलै जंगल तालबन्दहुँदै सालघारी पुगेको थियो। फागुन ९ गते सालघारीमा देखिएको बाघलाई स्थानीयले सोही समयमा मारेको हुनसक्ने आँकलन गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।