काठमाडौं– नेपाल कम्युनिस्ट पार्टीका वरिष्ठ नेता झलनाथ खनालले पार्टी वरीयतामा आफूमाथि अन्याय भएको बताएका छन्।
चिनियाँ कम्युनिष्ट पार्टीले आयोजना गरेको मार्क्सको २०० वर्षको शतवार्षिकी कार्यक्रममा सहभागी भएर फर्किने क्रममा त्रिभुवन विमानस्थलमा पत्रकारसँग कुरा गर्दै खनालले वरीयतामा आफूलाई तल पारेर अन्याय गरेको गुनासो गरेका हुन्। नेता खनालले आफूले पार्टीभित्रै न्यायका लागि संघर्ष गर्ने पनि बताए।
‘वरीयतामा भएको अन्यायका विरुद्धमा पार्टीभित्र भिन्न मत राखेको छु, पार्टीभित्रै संघर्ष गर्छु’, उनले भने, ‘न्याय पाउनका लागि आफ्नो लडाइँलाई जारी राख्छु तर बाहिर भन्ने कुरा म गर्दिनँ।’
उनले पार्टीलाई एकजुट र बलियो बनाउन आफ्नो योगदान रहने पनि बताए।
चीनको कन्तुङ्ग प्रान्तको सेन्जिएनमा भएको कार्यक्रममा चिनियाँ कम्युनिस्ट पार्टीको विदेश विभागको निमन्त्रणामा खनाल चीन गएका थिए। कार्यक्रममा विश्वका १ सय ६० भन्दा बढी कम्युनिस्ट पार्टीका प्रतिनिधिको सहभागिता थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।