काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा कार्यरत रहेका बेला सुन व्यवसायीसँग मिलेर ४ लाख रुपैयाँ घुस लिने प्रहरी हवल्दारविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता भएको छ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को टोलीले पक्राउ गरेका प्रहरी हवल्दार बाबुराम घिमिरेविरुद्ध अख्तियारले मंगलबार विशेष अदालतमा मुद्दा दायर गरेको हो।
सीआईबीमा रहेको सुन तस्करीसम्बन्धी मुद्दा मिलाइदिने भन्दै हवल्दार घिमिरेले सुन व्यवसायी राजकुमार स्वर्णकारसँग मिलेर एकजना व्यवसायीबाट ३ लाख ९९ हजार ५ सय रुपैयाँ घुस लिएका थिए।
हवल्दार घिमिरेले घुस लिएको सूचनापछि सीआईबीको टोलीले उनलाई २०७७ माघमा काठमाडौंको चावहिलबाट पक्राउ गरेको थियो।
यसअघि सीआईबीले आफ्नो अनुसन्धान सकेर हवल्दार घिमिरेविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता गरेको थियो।
घिमिरे राष्ट्रसेवक कर्मचारी (सुरक्षाकर्मी) भएकाले भ्रष्टाचारको रोहमा पनि अनुसन्धान हुन सीआईबीले नक्कल मिसिलसाथ अख्तियारमा पत्र पठाएको थियो।
सीआईबीको मिसिलसँगै उजुरीमाथि गरिएको अनुसन्धानबाट हवल्दार घिमिरेले सुन तस्करको मुद्दाअन्तर्गत केन्द्रीय अनुसन्धान व्यूरोमा भएको नक्कली फाइल खडा गरी रकम नदिएमा पक्राउ गरी मुद्दा चलाउने डरत्रास र धम्की दिएर सुन व्यवसायी स्वर्णकारसँग मिलेर ३ लाख ९९ हजार ५०० रुपैयाँ घुस लिएको पुष्टि हुन आएको अख्तियारले जानकारी दिएको छ।
अख्तियारले हवल्दार घिमिरेविरुद्ध ३ लाख ९९ हजार ५०० रुपैयाँ बिगो कायम गरी बिगोअनुसार जरिवाना र अधिकतम १ वर्ष ६ महिनासम्म कैद सयाजको मागदाबी गर्दै मुद्दा दर्ता गरेको छ।
घिमिरेलाई घुस रकम असुलीमा सहयोग गर्ने सुन व्यवसायी राजकुमार स्वर्णकारलाई पनि प्रतिवादी बनाएर मुद्दा दर्ता गरिएको छ। अख्तियारले स्वर्णकारविरुद्ध पनि ३ लाख ९९ हजार ५०० रुपैयाँ बिगो कायम गरी बिगोअनुसार जरिवाना र अधिकतम १ वर्ष ६ महिनासम्म कैद सयाजको मागदाबी गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।