काठमाडौं- बैंकिङ कसुर मुद्दामा एक करोड १० लाख जरिवाना सुनाइएका दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेहरुमा काठमाडौं महानगरपालिका-१० थापागाउँका ४९ वर्षीय गणेशमान श्रेष्ठ र काठमाडौं महानगरपालिका-१९ का ६३ वर्षीय महेन्द्रप्रसाद मिश्र छन्। उनीहरुलाई केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले क्रमश: ललितपुरको लामाटार र काठमाडाैंको महाराजगञ्जबाट पक्राउ गरेको हो।
श्रेष्ठलाई उच्च अदालत पाटनले बैंकिङ कसुर मुद्दामा ५५ लाख जरिवाना र १५ दिन कैद तथा मिश्रलाई ५५ लाख जरिवाना र सात दिन कैद सुनाएको थियो।
उनीहरुले रकम नभएको खाली चेक दिएर बैंकिङ कसुरको अपराध गरेको आरोप छ। नारायणबहादुर श्रेष्ठलाई दिएको ५५ लाखको चेक रकम नभएको भन्दै नसाटिएपछि उनीविरुद्ध बैंकिङ कसुरको मुद्दा चलाइएको थियो।
त्यस्तै मिश्रविरुद्ध डोमा याङ्छेनले बैंकिङको जाहेरी दिएको अदालतले ५५ लाख जरिवानाको फैसला सुनाएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।