काठमाडौं–अभद्र व्यवहारको कसुरमा प्रहरी हिरासतमा रहेकी तथा आफूलाई अभियन्ता दाबी गर्ने ज्वाला भनिने टीका संग्रौलासहित तीन जनासँग १० हजार रुपैयाँ धरौटी माग भएको छ।
गत जेठ १६ गते प्रहरी वृत्त गौशालामा युवा संघकी केन्द्रीय सदस्यसमेत रहेकी खुस्वु घिमिरेमाथि कुटपिट गरेको आरोपमा पक्राउ परेकी संग्रौलासहित तीन जनाविरुद्ध जिल्ला प्रशासन कार्यालय काठमाडौंले सोमबार जनही १० हजार रुपैयाँका दरले धरौटी माग गरेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी अशोक सिंहले बताए।
घिमिरेमाथि कुटपिट गरेको आरोपमा आफूलाई अभियन्ता दाबी गर्ने संग्रौलासँगै उनका पति हिमाल उपाध्याय र शर्मिला वाइवा भनिने शर्मिला राईलाई परिसर काठमाडौंले असार ६ गते पक्राउ गरेको थियो। तीनै जनाविरुद्ध अभद्र व्यवहारको कसुरमा प्रहरीले मुद्दा चलाएको थियो।
मुलुकी अपराध संहिताको दफा ११८ को उपदफा (१) मा कसैले सार्वजनिक स्थान वा प्रवेश गर्न कानुनी अधिकार नभएको ठाउँमा प्रवेश गरी कसैलाई अभद्र व्यवहार गर्न वा सार्वजनिक स्थानमा महिला, बालबालिका वा शारीरिक रुपमा अशक्त व्यक्तिलाई हातपात वा हैरानी गर्न वा त्यसको उद्योग गर्न हुँदैनु भन्ने व्यवस्था गरिएको छ। यस्तो कसूर गर्ने वा गराउने व्यक्तिलाई १ वर्षसम्म कैद वा १० हजार रुपैयाँ जरिवाना वा दुबै सजाय हुनसक्ने व्यवस्था सोही दफाको उपदफा (२) मा गरिएको छ।
सोही बमोजिम सोमबार उनीहरुविरुद्ध जिल्ला प्रशासन कार्यालयले जनही १० हजार रुपैयाँका दरले धरौटी माग गरेको हो। धरौटी बुझाए पनि उनीहरु अहिले पनि प्रहरी हिरासतमै रहेका छन्। उनीहरु तीन जनासँगै दोलखाका यमबहादुर खड्काविरुद्ध जातीय तथा सामाजिक भेदभावसम्बन्धी कसुरमासमेत मुद्दा चलाइएको छ। उक्त कसुरमा मुद्दा जिल्ला अदालत काठमाडौंमा दर्ता भइ सुनुवाइको क्रममा रहेको छ।
योसँगै संग्रौला र उनका पति उपाध्यायविरुद्ध कीर्तेमासमेत प्रहरीले मुद्दा चलाएको छ। संग्रौला र उपाध्यायले विवाह दर्तालगायतका कागजात कीर्ते गरेको प्रहरी अनुसन्धानबाट खुलेपछि उनीहरुविरुद्ध कीर्तेमा पनि मुद्दा चलाइएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।