काठमाडौं- लामो गुन्द्रुके कपाल, चिम्सा आँखा अनि मिठो हाँसो। नेपालका प्रायः सार्वजनिक यातायातमा देखिने पोस्टर हो यो। पाश्चात्य संगीत मन पराउनेहरूले उनलाई चिनिहाल्छन्, बब मार्ली।
विश्वभर पाश्चात्य संगीत र नृत्यमा चर्चा कमाएको नाम माइकल ज्याक्सन पनि हो। बबलाई नचिनेका मानिस सार्वजनिक यातायातमा देखिएको पोस्टर माइकलकै हो कि भनेर झुक्किन्छन् पनि। तर, उनी हुन्, नशामा धुत भइरहने गायक बब मार्ली।
वेस्टर्न म्युजिकको नामले परिचित पप संगीतमा नेपालीका प्रिय गायक धेरै छन्। तर, सार्वजनिक ठाउँहरूमा हामी किन बबको फोटो र पोस्टर नै देख्छौं होला? कारण, बब शान्तिप्रेमी जनगायक हुन्।
‘म कहिल्यै कसैको बारेमा नराम्रो भन्दिनँ। किनभने, मेरो दिल पूर्णरूपमा सफा छ। म अवस्था थाहा पाउँछु र गलतसँग सहीलाई छुट्याएर सुनाइदिन्छु।’
यो भनाइ उनै चर्चित गायक बब मार्लीको हो। उनको यही भनाइले धेरै मानिसको सोच्ने तरिकामा फरकपन ल्याइदिएको छ।
जमैकाको एक गाउँमा ६ फेब्रुअरी १९४५ मा जन्मिएका हुन्, बब मार्ली। उनको बाल्यकालको नाम रोबर्ट नेष्टा मार्ली हो। नेष्टा नामले महिलालाई चिनाउने भएकाले उनले पछि नाम परिवर्तन गरेर बब मार्ली राखेका थिए।
बबको आमा अश्वेत थिइन् भने बाबु गोरा। त्यसैले बाल्यकालमा सबै साथीभाइ बबलाई ह्वाइट व्वाइ अर्थात् सेतो केटो भनेर जिस्क्याउँथे। बाबु आमा गोरा र अश्वेत भएकैले बबले सानैदेखि भेदभाव सहनुपर्यो। उनी अश्वेतबाट पनि हेपिए, गोराबाट पनि। त्यसैमाथि उनी १० वर्ष नपुग्दै उनका बाबु बिते। यही बालापनको भेदभाव र बाबु गुमाउँदाको पीडा उनको गीतमा झल्कन्छ। उनका गीतले राजनीतिक, सामाजिक विकृति र विसंगतिलाई उजागर गरेको पाइन्छ।
आफ्ना साथीसँग मिलेर बबले ‘द वेलर्स’ नामको समूह बनाए। विस्तारै आसपासका मानिसले पनि बबलाई गीत गाउने केटाको रूपमा चिन्न थाले। मानिसले उनलाई हिरोजस्तै मान्न थाले।
उनलाई पढ्न मन पर्दैनथ्यो। साथीभाइले चिड्याउने भएकाले पनि उनी विद्यालय जान रूचि नराख्ने विद्यार्थीमा पर्दथे। तर, जति समय विद्यालय गए, पढाइमा सधैं उत्कृष्ट बने। उनी गणितका जस्तोसुकै जटिल समस्या पनि सजिलै समाधान गरिदिन्थे।
एक दिन उनी साथीभाइसँग खेलिरहेका थिए। खेलको समयमा आँखामा केही पर्यो। रिसाउँदै विद्यालयबाट घर आए, र आमालाई आजदेखि स्कूल जान्न भने। त्यहीँबाट उनको औपचारिक विद्यालय जीवन सकियो।
उनको झुकाव संगीतमा थियो। १४ वर्षको उमेरमा उनले स्कूले साथीको साथमा गीत गाउन थाले। त्यही समयमा उनले एक धर्मको समेत पालना गर्न थाले। रस्ताफरिधम नामको धर्मलाई अँगालेपछि उनले कहिल्यै कपाल काटेनन्। त्यसैले उनको कपाल लामो र लट्टा परेको हुनथाल्यो।
आफ्ना साथीसँग मिलेर बबले ‘द वेलर्स’ नामको समूह बनाए। विस्तारै आसपासका मानिसले पनि बबलाई गीत गाउने केटाको रूपमा चिन्न थाले। मानिसले उनलाई हिरोजस्तै मान्न थाले।
उनको घरमा सधैं भीडभाड जम्मा हुन थाल्यो। कोही खानलाई उनको घरमा आउँथे, कोही पैसा माग्न आउँथे भने कोही जागिर माग्न आउँथे। कोही भने गाँजा खान मात्रै पनि आउँथे।
बब लजालु स्वभावका थिए तर उनले केटी साथी भने धेरै बनाएका थिए। उनलाई महिला भनेका बच्चा उत्पादन गर्ने र आमा बन्ने हो जस्तो लाग्थ्यो। उनी खुलेर मसँग एक जना मात्रै केटी साथी छैन, धेरै छ भनेर सञ्चारमाध्यममा अन्तर्वार्ता दिन्थे। कति जना छ भन्ने प्रश्नमा ‘धेरै छैन, केही मात्रै हो’ भन्थे। अनि एकै समयमा हो सबै केटी साथी? भन्ने प्रश्नमा, ‘हैन, समयअनुसार हो’ भन्थे। उनकी श्रीमती रिटालाई पनि बब एकै समयमा धेरै केटी साथी बनाउने मानिस हो भन्ने थाहा थियो। उनी आफूलाई बबका सन्तानको आमा कुखुरा जस्तै हो, जसले चल्ला बनाउँछ र हुर्काउँछ भन्थिन्। रिटाबाट बबका पाँच जना सन्तान छन्। उनको कूल सन्तान भने ११ जना छन्।
सत्तापक्ष र प्रतिपक्षको लडाइँलाई शान्तिमा परिणत गर्न योगदान दिएकाले बब मार्ली विश्वभर चर्चित छन्। जम्मा ३६ वर्ष बाँचेका बबका गीत अमर छन्।
बबको सांगीतिक करिअर दिनप्रतिदिन उकालो लागिरहेका बेला जमैकाको राजनीति भने ओरालो लागिरहेको थियो। लगातार दंगा, हिंसा भइरहेको थियो। राजनीतिक लडाइँमा गोली हानाहानको अवस्था सिर्जना भइरहेको थियो।
सन् १९७६ मा सत्ताधारी पार्टीले एक कन्सर्टको आयोजना गर्यो। जसको नाम थियो ‘स्माइल जमैका’। उक्त कन्सर्टमा बबलाई पनि निमन्त्रणा गरियो। कन्सर्ट शान्तिका लागि भएकाले उनी निःशुल्क सहभागी हुन राजी भए।
यो कुरा जमैकाको विपक्षी दललाई स्वीकार्य भएन। त्यसैले कन्सर्टको दुई दिनअघि उनीमाथि गोली हानियो। उनको छातीमा गोली लाग्यो। जमैका सरकारले कन्सर्ट रद्द गर्न खोजे पनि घाइते अवस्थामै बबले शान्तिका लागि गीत गाए। स्टेजमा उनले छातीमा गोलीले बनाएको घाउ देखाए र सबैसँग शान्तिको अपिल गरे।
यो कन्सर्टपछि उनी जमैका छाडेर इंग्ल्याण्ड गए। तर, १९७८ मा आफ्नै देशका राजनीतिक पार्टीहरू सत्तापक्ष र प्रतिपक्षबीचको द्वन्द्वले जमैकाको हालत निकै खराब हुनपुग्यो। यो अवस्था उनले अर्काको देशमा बसेर हेर्न सकेनन् र फेरि जमैका पुगे।
बबले शान्ति फैलाउने उद्देश्यले एक कन्सर्टको आयोजना गरे। कन्सर्टमा उनले सत्ताधारी दल र विपक्षी दलका नेतालाई बोलाए। कन्सर्टको बीचमा दुवै दलका नेतालाई स्टेजमा बोलाए र अँगालो मार्न लगाए। त्यसपछि सारा झगडा अन्त्य गर्न लगाए। यो कुरा सत्तापक्ष र विपक्षी दुवैले माने, अनि जिम्बाबेमा शान्ति छायो।
सन् १९७८ कै आसपासमा बब बिरामी हुन सुरू गरे। उनलाई चिकित्सकले दाहिने खुट्टाको बूढीऔंला काट्नुपर्ने सुझाव दिए, किनभने त्यहाँ क्यान्सर भएको थियो।
बब फुटबलप्रेमी पनि थिए। उनलाई खुट्टाको औँला काट्न मन थिएन। तर, केही सीप नचलेपछि काट्नै पर्यो। तर, क्यान्सर अन्य सबै अंगमा फैलिइसकेको थियो। क्यान्सरकै कारण उनले कपालसमेत काट्नुपर्यो।
सन् १९८१ मे ११ मा उनी यो संसारबाट बिदा भए। उनी लामो समय इंग्ल्याण्ड बसे पनि अन्तिम सास फेर्न भने जमैका नै पुगेका थिए।
सत्तापक्ष र प्रतिपक्षको लडाइँलाई शान्तिमा परिणत गर्न योगदान दिएकाले बब विश्वभर चर्चित छन्। जम्मा ३६ वर्ष बाँचेका बबका गीत अमर छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।