बारा- कीर्ते सवारी पास बनाउने उपकरण र कीर्ते पाससहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेहरुमा कलैया उपमहानगरपालिका-४ स्थित दाइभाइ फोटो स्टुडियो एण्ड जनरल स्टोरका सञ्चालक कलैया उपमहानगरपालिका-३ बस्ने ३० वर्षीय गोपाल प्रसाद साह र ना १ ज ७२८८ नम्बरको सुमो गाडीका धनी सोही उपमहानगरपालिका-१७ बस्ने २१ वर्षीय जयनारायणप्रसाद जैसवाल रहेका छन्।
जितपुर सिमरा उपमहानगरपालिका-१ पथलैया चोकस्थित सडकमा सवारी साधनहरु चेकजाँच गर्ने क्रममा कलैयादेखि काठमाडौंतर्फ जाँदै गरेको उक्त गाडीको कागजात जाँच गर्ने क्रममा जयनारायणसँग जिल्ला प्रशासन कार्यालय बाराको छाप र अधिकृतको दस्तखतसमेत कीर्ते गरी बनाइएको नक्कली सवारी पाससहित फेला पारी प्रहरीले पक्राउ गरेको थियो।
थप अनुसन्धानको क्रममा उक्त कीर्ते पास गोपालप्रसादको फोटो स्टुडियोबाट बनाएको खुल्न आएपछि उक्त स्टुडियो तलासी गर्दा तीन थान नक्कली सवारी पास तथा उक्त पास बनाउन प्रयोग गरिएका दुई थान प्रिन्टर, एक थान सीपीयू र एक थान मनिटरसहित फेला पारी गोपालप्रसादलाई पक्राउ गरेको हो।
उनीहरूमाथि लिखतसम्बन्धी कसूर (कीर्ते मुद्दा)मा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।