नेपालगञ्ज- बाँके प्रहरीले संरक्षित रेड पाण्डाको छाला र भालुको पित्तसहित तीन जनालाई नियन्त्रणमा लिएको छ।
बाँके प्रहरीले आइतबार पत्रकार सम्मेलन गरेर कारोबारमा संलग्न मानिसहरुलाई सार्वजनिक गरेको हो। लुम्बिनी प्रहरी प्रदेश कार्यालय दाङ र जिल्ला प्रहरी कार्यालय बाँकेको संयुक्त टोलीले उनीहरुलाई नियन्त्रणमा लिन सफल भएको थियो।
प्रहरीले नेपालगञ्ज उपमहानगरपालिका-१ पुष्पलाल चोकनजिक रहेको राप्ती गेष्टहाउसको कोठा नं. १० बाट दाङ घोराही उपमहानगरपालिका-४ का ४९ वर्षीय भक्तबहादुर पुन, ४१ वर्षीय केशव पुन र शान्तिनगर गाउपालिका-१ का २१ वर्षीय रोविन बुढालाई शनिबार राति पौने ९ बजेको समयमा नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीले जानकारी दिए। प्रहरीले उनीहरुको साथबाट संरक्षित रेड पण्डाको छाला एक थान र भालुको पित्त जस्तो देखिने वस्तु चार थान बरामद गरेको जनाएको छ।
प्रहरीले बरामद सामानसहित तीनै जनालाई आवश्यक कारबाहीका लागि डिभिजन वन कार्यालय बाँकेमा पठाउने जनाएको छ। प्रहरी नियन्त्रणमा रहेका तीन जनामाथि वन ऐन २०७६ को दफा ४९ को (त) कसुरमा निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ को दफा २६ ९१० बमोजिम पाँच लाखदेखि १० लाख रुपैयाँसम्म जरिवाना र पाँचदेखि १५ वर्षसम्म कैद वा दुवै सजाय हुनसक्ने प्रावधान रहेको छ।
बाँके प्रहरीले असार महिनामा मात्रै चरीबाघको छाला, चितुवा प्रजातिको छाला, रेड पण्डाको छाला र भालुको पित्तजस्ता संरक्षित र दुर्लभ वन्यजन्तुको चोरी सिकारीको अभियोगमा विभिन्न मितिमा छ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।