काठमाडाैं- प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा साफ च्याम्पियनसिप आयोजना गर्नका लागि आवश्यक प्रक्रिया अघि बढाउन राष्ट्रिय खेलकुद परिषद् (राखेप) र अखिल नेपाल फुटबल संघ (एन्फा) लाई निर्देशन दिएका छन्।
प्रधानमन्त्रीनिवास बालुवाटारमा आइतबार आयोजित खेलाडी सम्मान कार्यक्रममा प्रधानमन्त्री ओलीले आयोजना गर्ने अवसर आएको खण्डमा अगाडि सर्न निर्देशन दिएका हुन्।
‘नेपालले खेल्न नभएर जित्नका लागि साफ च्याम्पियनसिप आयोजना गर्ने हो। त्यसको लागि आवश्यक प्रक्रिया अगाडि बढाउनुस्,’ प्रधानमन्त्री ओलीले भने, ‘दसैंको बेला पनि पर्ने रहेछ, खेलाडीले साफ जितेर दसैं मनाउँछन्।’
नेपाली टोलीले अनुशासितरूपमा फाइनल खेल खेलेको भन्दै खेलमा अनुशासन अत्यावश्यक भएको उनले बताए। ‘टोलीको आत्मविश्वास बढाउन हरेक खेलाडीले आफ्नो आत्मविश्वास बढाउनु आवश्यक हुन्छ’, प्रधानमन्त्री ओलीले भने।
देशको विकास हुनका लागि खेलकूदको मात्र नभई चौतर्फी विकास आवश्यक भएको उनको भनाइ थियो।
गतवर्ष नै बंगलादेशले आयोजना गर्ने भनिएको प्रतियोगिता कोरोना संक्रमणका कारण एक वर्ष पछि धकेलिएको थियो। त्यसपछि असोज पहिलो साता बंगलादेशमा हुने भनिएको प्रतियोगिता अनिश्चित बनेपछि नेपालले आयोजनाका लागि चासो देखाएको हो।
बंगलादेश फुटबल संघले बंगबन्धु अन्तर्राष्ट्रिय रंगशालाको पुनर्निर्माण जारी रहेका कारण सिल्हेट वा चटगाउँमा प्रतियोगिता हुने सम्भावना नरहेको जनाएको छ।
सरकारबाट नै स्वीकृति पाएपछि अब नेपालले यसै साता हुने साफ बैठकमा आयोजनाको प्रस्ताव लाग्नेछ। यस्तै, श्रीलंकाले पनि साफ आयोजनामा दाबी प्रस्तुत गरेको छ।
कोरोना महामारीका कारण भुटानले साफ च्याम्पियनसिप भएको अवस्थामा सहभागी हुन नसक्ने जनाइसकेको छ। त्यस्तै, पाकिस्तान पनि फिफाबाट प्रतिबन्धमा रहेका कारण सहभागी हुने छैन। प्रतियोगिता आयोजना भए पाँच राष्ट्रले साफमा प्रतिस्पर्धा गर्ने छन्।
साफ आयोजनाको दाबी प्रस्तुत गर्दै एन्फाले सरकारसँग साढे तीन करोड रुपैयाँ माग गरेको छ। सरकारबाट बजेट निकासा भएको खण्डमा थप साढे एक करोड रुपैयाँ प्रायोजक र प्रत्यक्ष प्रसारणबाट जुटाएर साफ सम्पन्न गर्ने एन्फाको लक्ष्य छ।
पछिल्लोपटक नेपालले सन् २०१३ मा दशरथ रंगशालामा साफ च्याम्पियनसिप आयोजना गरेको थियो। त्यतिबेला नेपाल सेमिफाइनलसम्म पुगेको थियो। पछिल्लोपटक सन् २०१८ मा बंगलादेशमै आयोजना भएको प्रतियोगितामा पनि नेपाल सेमिफाइनल पुगेको थियो। सेमिफाइनलसम्म पुग्नु नै नेपालको अहिलेसम्मको उच्च प्रदर्शन हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।