काठमाडाैं- गत चैतमा सम्पन्न थ्री नेसन्स कप विजेता राष्ट्रिय फुटबल टोलीका सदस्यलाई सरकारले नगद पुरस्कार प्रदान गरेको छ।
प्रधानमन्त्रीनिवास बालुवाटारमा आइतबार प्रधानमन्त्री केपी शर्मा ओलीले २३ खेलाडी र तीन जना प्रशिक्षकलाई नगद पुरस्कार प्रदान गरेका हुन्।
अखिल नेपाल फुटबल संघ (एन्फा)का प्रवक्ता किरण राईका अनुसार खेलाडीले जनही चार लाख रुपैयाँ प्रदान गरिएको छ।
यस्तै, मुख्य प्रशिक्षक बालगोपाल महर्जन, प्रशिक्षक किरण श्रेष्ठ र गोलकिपर प्रशिक्षक विकास मल्लले समान दुई लाख रुपैयाँ प्राप्त गरेका छन्।
विश्वकप छनोटका तीन खेल दशरथ रंगशालमा चैतका लागि तय भए पनि कोराना महामारीका कारण नेपालबाट कुवेत सारिएपछि एन्फाले थ्री नेसन्स कप फुटबल प्रतियोगिता आयोजना गरेको थियो।
प्रतियोगितामा आयोजक नेपालसहित बंगलादेश र कीर्गिस्तान सहभागी भएका थिए। बालगोपाल महर्जन मुख्य प्रशिक्षक रहेको नेपाली टोलीले बंगलादेशलाई २-१ ले हराउँदै उपाधि जितेको थियो।
प्रधानमन्त्री ओली उक्त फाइनल खेल हेर्न दशरथ रंगशालामा पुगेका थिए। समापनका क्रममा खेलाडीहरुले ‘केपी बा! वी लभ यु’ भन्दै नारा लगाएका थिए।
त्यसको केही दिनपछि सरकारले टोलीका खेलाडीलाई जनही चार लाख रुपैयाँ दिने निर्णय गरेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।