सांकेतिक तस्बिर
काठमाडाैं- नेपाली सेनाद्धारा सञ्चालित काठमाडाैंको छाउनीस्थित वीरेन्द्र अस्पतालमा काठमाडाैं महानगरवासी मृगौला रोगीका लागि निःशुल्क हेमोडाइलाइसिस सेवा सुरु भएको छ।
आइतबार अस्पताल परिसरमा एक समारोहबीच काठमाडाैं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्य र प्रधानसेनापति पूर्णचन्द्र थापाले निःशुल्क हेमोडाइलाइसिस सेवाको संयुक्त रुपमा शुभारम्भ गरे। महानगरपालिकाको आर्थिक सहयोग र नेपाली सेनाको व्यवस्थापनमा वीरेन्द्र अस्पताल छाउनीमा आइतबारदेखि मिर्गौलाका सेरो नेगेटिभ बिरामीका लागि निःशुल्क हेमोडाइलाइसिस सेवा सुरु भएको हो।
महानगरका प्रमुख शाक्यले महानगरवासीलाई स्वास्थ्य सेवा दिने प्रयासस्वरुप अस्पतालसँग सहकार्य गरेको बताए। मिर्गौलासम्बन्धी रोग लाग्नुभन्दा अगावै त्यसलाई रोक्न वा रोग लागिसकेको भए थप बिग्रन नदिन यसै वर्षदेखि ‘स्वस्थ मिर्गौला, स्वस्थ काठमाडौं’ कार्यक्रम अन्तर्गत ३२ वटै वडामा प्रारम्भिक परीक्षणको सेवा सुरु भइसकेको उनले बताए।
महानगरले सेवा सञ्चालनका लागि आवश्यक भौतिक पूर्वाधार, आठ वटा हेमोडायलाइसिस मेसिन, एउटा रिप्रोसेसिङ मेसिन, पानी शुद्धीकरण प्लान्ट र अन्य मेडिकल उपकरणहरू जडान गर्न अस्पताललाई तीन करोड रुपैयाँ अनुदान उपलब्ध गराएको छ। यससम्बन्धी सहकार्यका लागि महानगरपालिका र अस्पतालबीच पाँच वर्षका लागि २०७६ पुस २ गते नै सम्झौता भएको थियो।
सम्झौता अनुसार जडान गरिएका आठवटा हेमोडायलाइसिस मेसिनबाट हरेक हप्ता दुई सिफ्टमा सेवा सञ्चालन गर्न सकिन्छ। तत्कालका लागि ४८ जना बिरामीलाई साताको दुई पटक सेवा प्रदान गर्न सकिने अस्पतालका प्रमुख सहायक रथी डाक्टर अरुण शर्माले बताए।
यो सेवा विपन्न र सेरो नेगेटिभ दीर्घचरणको मृगौलारोगी, क्रोनिक किड्नी डिजिज स्टेज-५ पुगिसकेकाहरुका लागि मात्रै हो। यो सेवा लिनका लागि बिरामीले महानगरपालिकाको सिफारिस ल्याउनुपर्छ।
अहिले देशभरका ६५ वटा अस्पतालमा चालु रहेका ४९८ वटा डायलाइसिस मेसिनबाट तीन हजार ५१६ जना विपन्न वर्गका बिरामीले निःशुल्क हेमोडायलाइसिस सेवा प्राप्त गरिरहेको तथ्यांक छ। निःशुल्क डायलाइसिस गर्दा राज्यले प्रतिबिरामी वार्षिक दुई लाख ६० हजार रुपैयाँ खर्च व्यहोरिरहेको छ। नेपालमा हरेक वर्ष दुई हजार ६०० जना मिर्गौलाका नयाँ बिरामी थपिरहेको सरकारी तथ्यांक छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।