काठमाडाैं- युरोपियन फुटबलको नियामक निकाय (युईएफए)ले इंग्ल्यान्ड फुटबल एसोसिएशनलाई २६ हजार पाउण्ड अर्थात करिब ३० हजार युरो जरिवाना तिराएकाे छ।
गत बिहीबार बिहान वेम्बली स्टेडियमा सम्पन्न युरोकपको दोस्रो सेमिफाइनल खेलमा इंग्लिस समर्थकहरुले डेनमार्कका गोलरक्षकलाई ‘लेजर लाइट’ देखाएर खेल प्रभावित गर्न खोजेको भन्दै युईएफएले उक्त जरिवान तिराएकाे हाे।
१-१ गाेलकाे बराबरीमा रहेकाे अवस्थामा खेलकाे १०४औं मिनेटमा जोकिम महेलले रमिह स्टर्लिङलाई डिबक्स भित्र लडाएपछि रेफ्रीले भीएआरमार्फत् पेनाल्टी दिएका थिए।
कप्तान ह्यारी केनको प्रहारलाई गोलकिपर क्यास्पर स्माइकलले विफल पारेपनि रिबाउन्डमा उनले गोल गर्दै इंग्ल्यान्डलाई फाइनलमा पुर्याएका थिए।
टेलिभिजनका दृश्यमा इंग्ल्यान्डका कप्तान केनले पेनाल्टी प्रहार गर्नुभन्दा ठिक अगाडि डेनमार्कका गोलरक्षक स्माइकलको अनुहारमा हरियो बत्ती देखिएको थियो।
यस्तै, युईएफएले डेनमार्कको राष्ट्रिय गीत बजिरहेको समयमा इंग्ल्यान्डका समर्थकहरुले अवरोध निम्त्याउन खोजेको र आतशबाजी गरेको पनि आरोप लगाएको छ।
इंग्ल्यान्डले डेनमार्कलाई २-१ गोल अन्तरले पराजित गर्दै पहिलो पटक युरोकपको फाइनलमा पुगेको थियो। फाइनलमा इंग्ल्यान्ड आइतबार राति इटालीविरुद्ध उपाधिका लागि खेल्दै छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।