काठमाडौं- गत चैतमा सम्पन्न थ्री नेसन्स कप फुटबल प्रतियाेगिताका विजेता राष्ट्रिय फुटबल टोलीका सदस्यलाई सरकारले पुरस्कृत गर्ने भएको छ।
प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री केपी शर्मा ओलीले खेलाडीलाई पुरस्कृत गर्न लागेका हुन्।
प्रतियाेगितामा सहभागी सबै खेलाडीलाई आइतबार बिहान ११ बजे बालुवाटार बोलाइएको अखिल नेपाल फुटबल संघ (एन्फा)का प्रवक्ता किरण राईले जानकारी दिए।
विश्वकप छनोटका तीन खेल दशरथ रंगशालमा चैतका लागि तय भएपनि कोराना महामारीका कारण नेपालबाट कुवेत सारिएपछि एन्फाले थ्री नेसन्स कप फुटबल प्रतियाेगिता आयोजना गरेको थियो ।
प्रतियोगितामा आयोजक नेपालसहित बंगलादेश र कीर्गिस्तान सहभागी भएका थिए।
बालगोपाल महर्जन मुख्य प्रशिक्षक रहेको नेपाली टोलीले बंगलादेशलाई २-१ ले हराउँदै उपाधि जितेको थियो।
प्रधानमन्त्री ओली उक्त फाइनल खेल हेर्न दशरथ रंगशाला पुगेका थिए।
समापनका क्रममा खेलाडीहरुले ‘केपी बा ! वि लभ यु’ भन्दै नारा लगाएका थिए।
त्यसको केही दिनपछि सरकारले टोलीका खेलाडीलाई जनही ४ लाख रुपैयाँ दिने निर्णय गरेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।