पोखरा– खेलकुद मन्त्री जगत विश्वकर्माले वर्तमान समयमा नेपाली खेलकुद क्षेत्रले विभिन्न समस्या भोगिरहेको बताएका छन्। पोखरामा आयोजित ‘तेस्रो टिभिएस पोखरा स्पोर्टस् अवार्ड–२०७४’ वितरण कार्यक्रममा मन्त्री विश्वकर्माले भने, ‘खेलकुद मैदान पर्याप्त छैन, यसर्थ पनि खेलाडीले सुरक्षित भविष्यकोे प्रत्याभूति गर्न पाइरहेका छैनन्।’
उनले थपे, 'खेलकुदमा स्वेच्छाचारी परम्परा छ, चाँडै त्यसलाई अन्त्य गरी खेलाडीलाई खेलमा आकर्षित गर्न वातावरण निर्माण गर्छु।'
‘तेस्रो टिभिएस पोखरा स्पोर्टस् अवार्ड–२०७४’ कमल भण्डारी र विमला नेपालीले हात पारेका छन्। खेलकुद पत्रकार संघ, कास्कीले शनिबार सभागृह हलमा गरेको अवार्ड वितरण कार्यक्रममा विभिन्न विधामा खेलाडीलाई सम्मान गरेको हो।
शारिरीक सुगठनका भण्डारीले वर्ष उत्कृष्ट पुरुष खेलाडी अवार्डसँगै टिभिएस अपाचे मोटरसाइकल पाए भने वर्ष उत्कृष्ट महिला खेलाडीमा सितोरियो कराँतेकी खेलाडी नेपालीले विगो स्कुटर हात पारिन्।
उत्कृष्ट वर्ष संघ विधा जिल्ला ब्याडमिन्टन संघ, कास्कीले जितेको छ। वर्ष उदीयमान खेलाडीमा क्रिकेटका मेघबहादुर सिंह विजेता बने। वर्ष उत्कृष्ट प्रशिक्षक विधामा शारिरीक सुगठनका जीवन घिमिरेले जीत हात पारे।
पोखरा सभागृहमा भएको उक्त अवार्ड समारोहले लाइफ टाइम अचिभमेन्ट अवार्डबाट प्राडा वीरेन्द्र गुरुङलाई सम्मान गरेको छ। प्राज्ञिक क्षेत्रका व्यक्तित्व रहेर पनि पोखरामा खेलकुद विकासमा उनको योगदानको कदर गर्दै सम्मान गरेको मञ्चले बताएको छ। पोखरामा हक्की खेल भित्र्याउनेदेखि लनटेनिससँगै क्रिकेट खेलको विकास र पूर्वाधार निर्माणमा उनको महत्वपूर्ण योगदान रहेको मञ्चका संयोजक दिनानाथ बरालले बताए।
यसै संस्करणदेखि थप गरिएको पर्यटन खेलकुद पत्रकारिता पुरस्कार सन्तोष पोख्रेलले हात पारेका छन्। खेलकुद विकाससँगै खेलाडीको सम्मानका लागि मञ्चले विभिन्न ६ विधामा अवार्ड वितरण गरेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।