काठमाडाैं- जारी युराेकप २०२० फुटबल प्रतियाेगिताले युरोपका थुप्रै देशमा डेल्ट भेरियन्टका संक्रमित बढेकाे भन्दै विज्ञहरुले चिन्ता व्यक्त गरेका छन्।
७ जुलाईमा लण्डनस्थित वेम्बली स्टेडियममा सम्पन्न दाेस्राे सेमिफाइनल अन्तर्गतकाे इंग्ल्याण्ड र डेनमार्कबीचकाे खेलमा कोरोनाको गाइडलाइन उल्लघंन भएसँगै काेराेनाकाे भेरियन्ट फैलिएकाे दाबी गरिएकाे छ।
बेलायती सरकारले ९० हजार दर्शकको क्षमता भएको वेम्बली स्टेडियममा कोरोना प्रतिबन्धका कारण ६० हजार दर्शकलाई अनुमति दिएकाे थियाे। यद्यपि, सेमिफाइनलकाे खेलमा ताेकिएभन्दा बढी दर्शक सहभागी भएका थिए। उनीहरुले काेराेनाकाे गाइडलाइनसमेत उल्लघंन गरेका छन्।
विज्ञहरुका अनुसार कतिले टिकट नपाएर लण्डनको सडकमा भीड जम्मा गरेर खेल हेरेकाे कारण पनि काेराेना संक्रमण फैलिएकाे दाबी गरेका छन्। उनीहरुका अनुसार केही फुटबल समर्थकहरुले मास्क र सामाजिक दुरीलाई समेत ध्यानमा राखेका थिएनन्।
डेनमार्कका अधिकारीले कोपेनहेगनमा बेल्जियमविरुद्धको खेलमा तीन समर्थकमा डेल्टा भेरियन्टकाे संक्रमित फेला परेकाे जनाएका छन्।
जसका कारण ४ हजार प्रशंसकलाई परीक्षण गर्न आग्रह गरिएको थियो। यसबाहेक फिनल्याण्डको स्वास्थ्य अधिकारीले करिब सय जनामा संक्रमण भेटेकाे दाबी गरेका छन्। ती संक्रमितहरु सेन्ट पिटर्सबर्गमा रुसविरुद्ध आफ्नो टिमलाई समार्थन गर्न पुगेका थिए।
महामारी विशेषज्ञ एन्टोइन फ्लाहल्टले युरो कपमार्फत् हामी पूरा युरोपमा डेल्टा भेरियन्ट फैलाउन काम गरिरहेकाे भन्दै चिन्ता व्यक्त गरेका छन्।
उनले भने,‘रुसमा कोरोनाका बढ्दो संक्रमितको संख्या र मृत्युबीच सेन्ट पीटर्सबर्गमा क्वाटरफाइनल प्रतिस्पर्धा गराइयो। अब दुबै सेमिफाइनल जस्तै फाइनल प्रतिस्पर्धा पनि लण्डनमा नै खेलिनेछ, जहाँ करिब ६० हजार मानिस सँगै बसेर खेल हेर्नेछन्। ’
यस्तै, जेनेभा युनिभर्सिटीमा इन्स्टिच्युट अफ ग्लोबल हेल्थका निर्देशक फ्लाहल्टले फुटबलका सबै प्रतिस्पर्धालाई कोरोनाको कम प्रभावित शहरमा आयोजना नगरिएकाे कारण काेराेना संक्रमणकाे भेरियन्ट फैलिएकाे बताए।
‘यी सबै प्रतिस्पर्धालाई कोरोनाको कम प्रभावित शहरमा आयोजना गर्नुपर्ने थियो। यसले कोरोनाको संक्रमण कम हुन्थ्यो,’ उनले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।