काठमाडौं– एमाले एकता कार्यदलका सदस्य शंकर पोखरेलले आज (शुक्रबार) नै टुंगोमा पुग्नेगरी छलफल भइरहेको बताएका छन्।
शुक्रबार मध्याह्नदेखि सिंहदरबारमा जारी कार्यदलको बैठकबाट बाहिरिँदै पोखरेलले सहमतिका लागि अधिकतम प्रयास भइरहेको पनि बताए।
'सहमतिका लागि अधिकतम प्रयास गरिरहेका छौं। सम्भवतः आजै (शुक्रबार) हामी टुंगोमा पुग्छौं,’ पोखरेलले भने। कार्यदलको बैठक शुक्रबार दिउँसो पौने १ बजेदेखि जारी रहेको छ।
कार्यदलका सदस्यहरूले बिहीवार नै सहमति गर्ने बताए पनि सहमति भने हुन सकेको थिएन। २३ फागुन २०७७ को फैसलापछि पुन:स्थापित नेकपा एमालेको विवाद त्यतिबेलादेखि नै चर्किँदै आइरहेको छ।
विवाद मिलाउन सक्रिय दोस्रो तहका नेताहरुको प्रयासमा यसबीचमा अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधव कुमार नेपालबीच भेटवार्ता समेत भएका छन्। पछिल्लोपटक बुधबार (असार २३ गते) साँझ मात्रै ओली र नेपालबीच भेटवार्ता भएको थियो।
ओली र नेपालबीच भेटवार्ता भएपछि बिहीबार पनि एमाले एकता कार्यदलका सदस्यहरुको बैठक बसेको थियो। कार्यदलका सदस्यहरुको बैठक बिहीबार बिहान र साँझ गरी २ पटक बसेको थियो। साँझको बैठक भने विषय प्रवेश नै नगरी स्थगित भएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।