काठमाडाैं- रियल मड्रिडका पूर्व कप्तान तथा डिफेन्डर सर्जियो रामोस फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी)मा अनुबन्ध भएका छन्।
बिहीबार पीएसजीले रामोसलाई दुई वर्षकाे लागि अनुबन्धन गरेकाे जनाएकाे हाे। रामोस २०२३ को जुन ३० सम्म पीएसजीमा रहने छन्।
पीएसजीमा उनी यो सिजन अनुबन्ध हुने उनी चौथो खेलाडी हुनेछन्। पीएसजीले यसअघि जर्जिन्हो वाइनाल्डम, ड्यानिलो पेरेइरा र अचरफ हाकिमीलाई अनुबन्ध गरिसकेको छ। रामोसले पीएसजीमा ४ नम्बरको जर्सी लगाउने छन्।
बुधबार आफ्नो अफिसियल वेबसाइटमा पीएसजीले नयाँ डिफेन्डर ४ नम्बर जर्सीमा देखिनेछन् भनेर पोस्ट गरेको थियो।
रामाेसले पनि पीएसजी टीभीसँगको अन्तर्वार्तामा ४ नम्बर जर्सीबाटै आफूले खेल करिअर शुरु गरेको र यसलाई जीवनभर निरन्तरता दिने बताएका थिए।
स्पेनिस सेन्टर ब्याक रामोसले गत जुनको अन्त्यसँगै रियल छाडेका थिए। रियलमा उनले दुई वर्षको सम्झौता माग गरेपनि यसमा सहमति जुट्न नसक्दा उनले सिजनको अन्त्यसँगै क्लब छाडेका हुन्।
सन् २००५ मा सेभियाबाट आएका ३५ वर्षीय रामोसले १६ वर्ष रियलमा बिताएका थिए। रियलबाट उनले पाँच पटक ला लिगा र ४ पटक च्याम्पियन्स लिगको उपाधि जिते।
फिफा क्लब विश्वकप र स्पेनिस सुपर कप ४/४ पटक जित्दा यूईएफए सुपर कप ३ पटक जितेका छन्। यस्तै, कोपा डेल रे दुई पटक जितेका छन्।
उनले क्लबका ६ सय ७१ खेल खेलेका छन्। रियलका लागि १ सय १ गोल गरेका रामोसले ४० असिस्ट गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।