काठमाडाैं- अतिरिक्त समयमा जित निकाल्दै इंग्ल्यान्ड युरोकप २०२० काे फाइनलमा प्रवेश गरेकाे छ।
वेम्बली स्टेडियममा बिहीबार बिहान भएकाे दाेस्राे सेमिफाइनलमा डेनमार्कलाई २-१ पराजित गर्दै घरेलु टाेली इंग्ल्यान्ड उपाधि नजिक पुगेकाे हाे। अब उपाधिका लागि इंग्ल्यान्डले इटालीसँग प्रतिस्पर्धा गर्ने छ।
बुधबार बिहान सम्पन्न पहिलाे सेमिफाइनलमा स्पेनलाई टाइब्रेकरमा ४-२ ले पराजित गर्दै इटाली फाइनलमा पुगेकाे थियाे।
निर्धारित ९० मिनेटकाे खेल १-१ को बराबरीमा सकिएपछि खेल अतिरिक्त समय तिर धकेलिएकाे थियाे। डेनमार्कले सुरुवाती अग्रता लिएपनि इंग्ल्यान्डले पहिलो हाफमा नै खेल बराबर गरेको हो।
३०औं मिनेटमा मिकेल डाम्सगार्डकाे गोलमा डेनमार्कले अग्रता लिएकाे थियाे। उनले झन्डै २५ यार्ड टाढाबाट प्रहार गरेकाे फ्रिकिक गोलमा परिणत भएकाे थियाे।
३९औं मिनेटमा इंग्ल्यान्ड बराबरी गोल फर्काउन सफल भयो। बुकायो साकाको क्रस रहिम स्टर्लिङ दिएपनि कप्तान सिमोन केयरले त्यसअघि नै ट्याकल गर्ने क्रममा बल आफ्नै पोस्टमा छिरेको थियो।
१०४औं मिनेटमा जोकिम महेलले स्टर्लिङलाई डिबक्स भित्र लडाएपछि रेफ्रीले भीएआरमार्फत् पेनाल्टी दिए।
कप्तान ह्यारी केनको प्रहारलाई गोलकिपर पिटर स्माइकलले विफल पारेपनि रिबाउन्डमा उनले गोल गर्दै इंग्ल्यान्डलाई जित दिलाए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।