काठमाडौं- ए डिभिजन राष्ट्रिय फुटसल लिग आगामी साउन २३ गतेबाट शुरु हुने भएको छ।
अखिल नेपाल फुटबल संघ (एन्फा)ले बुधबार सूचना जारी गर्दै कोरोना महामारीका कारण स्थगित भएको फुटसल लिग साउन २३ गतेबाट पोखरामा शुरु हुने जानकारी दिएकाे हाे।
यसअघि फुटसल लिग जेठ १ देखि २२ सम्म हुने भनिए पनि कोरोना कारण स्थगित गरिएको थियो। पोखराको बहुउद्देश्यीय कभर्डहलमा सञ्चालन हुने लिगमा छनोट चरण पार गरेका १० टिमले प्रतिस्पर्धा गर्नेछन्।
लिगका लागि एन्फाले प्रदेश १ बाट फुटसल फाइभ धरान र द राइजिङ क्लब धरान, बागमती प्रदेशबाट ढुकु फुटसल हब र शंखमूल फुटसललाई छनाेट गरेकाे छ।
यता, प्रभातफेरी युथ क्लब र स्काई गोल फुटसल, गण्डकी प्रदेशबाट स्पोट्र्स क्यासल, सविन मेमोरियल फुटसल क्लब तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिमबाट संयुक्त रुपमा, लुम्बिनी फुटसल र झरना स्पोट्स क्लब पनि छनोट भएका छन्।
लिगको विजेताले १० लाख र उपविजेताले ५ लाख पाउने छन्। यस प्रतियोगिताबाट एएफसी फुटसल कप क्वालिफायरका लागि नेपालको राष्ट्रिय फुटसल टोलीका खेलाडी छनोट गरिने एन्फाले जनाएकाे छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।