काठमाडौं- स्पेनका प्रशिक्षक लुइस एनरिकेले आफ्नो टोली सर्वश्रेष्ठ प्रतिद्धन्दीसँग हारेको बताएका छन्।
इंग्ल्यान्डस्थित वेम्बली स्टेडियममा बुधबार बिहान भएको पहिलो सेमिफाइनलमा पेनाल्टी सुटआउटमा इटालीसँग पराजित हुँदै स्पेन प्रतियोगिताबाट बाहिरिएपछि उनले उक्त प्रतिकृया दिएका हुन्।
‘सेमिफाइनलको खेल गुमाएपनि दु:खी छैनाैं। हामी क्वाटरफाइनलमा पेनाल्टी सुटआउटमा भाग्यमानी रह्यौं। मैले सुरुवातमा भनेका थिएँ हामी ती ८ मध्य एक टिम हौं, जसले प्रतियोगिता जित्न सक्छौं। म त्यसमा ढुक्क थिएँ। हाम्रो प्रतिद्धन्दी प्रतियोगिताको सर्वश्रेष्ठ मध्यको एक टिम थियो। हामी यो जानेर घर जानेछौं,’ उनले भने।
निर्धारित ९० मिनेटको खेल १-१ को बराबरीमा सकिएपछि अतिरिक्त समयमा लम्बिएको थियो। अतिरिक्त समयमा पनि गोल हुन नसक्दा खेलको नतिजा टाइब्रेकरबाट लिइएको हो।
जहाँ स्पेनलाई ४-२ ले पराजित गर्दै इटाली उपाधि नजिक पुगेको छ। इटालीका म्यानुएल लोकाटेलीको प्रहार गोलरक्षक उनाइ सिमोनले बचाए। तर, आन्द्रे बेलोट्टी, लियोनार्दो बुनिची, फेडेरिको किएजा र जोर्जिन्होले भने गोल गरे।
पेनाल्टीमा स्पेनका मोरेनो जेरार्ड र थियागो अल्कान्टाराले गोल गरे। डानिल ओल्मो र अल्भारो मोराटाले गोल गर्न सकेनन्।
उनले अल्भारो मोराटाको योगदानको समेत प्रशंसा गरे। ८०औं मिनेटमा स्पेन खेलमा फर्कियो। वैकल्पिक खेलाडीका रुपमा मैदान प्रवेश गरेका फरवार्ड अल्भारो मोराटाले गोल गर्दै खेल १-१ को स्थितिमा ल्याएका थिए।
उनले पेनाल्टी क्षेत्रको बाहिरबाट ड्यानी ओल्मोले दिएको पासमा गोल गरेका थिए। उनकै गोलमा स्पेनले खेल अतिरिक्त समयमा धकेलेको थियो।
‘उनी प्रतियोगिताको दौरान केही कठिन अवस्थाबाट गुज्रिए। तर, उनी शानदार थिए। उनी पेनाल्टी प्रहार गर्न चाहन्थे,’ प्रशिक्षक एनरिकेले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।