काठमाडौं– जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओ बाँडफाँट भएको छ।
विक्री प्रबन्धक एनएमबि क्यापिटलले बुधवार बिहान गोलाप्रथामार्फत आईपीओ बाँडफाँट गरेको हो। २० लाख १८ हजार ३०८ जना आवेदकमध्ये १ लाख ८४ हजार ८०१ जनाले १० कित्ताका दरले सेयर पाएका छन्। पाँच जना आवेदकले भने ११ कित्ता सेयर हात पारेका छन्।
कम्पनीले असार ११ गतेदेखि १५ गतेसम्म सार्वजनिक निष्कासन मार्फत १८ लाख ४८ हजार १५ कित्ता सेयर विक्री गरेको हो। धितोपत्र निष्कासन तथा बाँडफाँट निर्देशिका बमोजिम सबै आवेदकलाई न्यूनतम १० कित्ताका दरले सेयर बाँडफाँट गर्नुपर्ने व्यवस्था बमोजिम कम्पनीको आईपीओ बाँडफाँट भएको हो।
कम्पनीले सर्वसाधारणका लागि छुट्याइएको रू. १९ करोड ७७ लाख ३० हजार बराबरको १९ लाख ७७ हजार ३ सय कित्ता आईपीओमध्ये शून्य दशमलव ५ प्रतिशत दरको ३० हजार ४२० कित्ता कर्मचारीहरु र ५ प्रतिशत दरको ९८ हजार ८६५ कित्ता सामुहिक लगानी कोषको लागि बाँडफाँट गरेको छ।
नेप्सेले प्रतिसेयर नेटवर्थको आधारमा तीन गुणासम्मको मूल्य पहिलो कारोबारका लागि तोक्ने हुँदा कम्पनीले पहिलो कारोबारका लागि रू. ३०५ दशमलव २७ देखि रू. ९१५ दशमलव ८१ सम्मको मूल्य रेञ्ज पाउने देखिन्छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।