काठमाडाैं- कोपा अमेरिकामा सेमिफाइनको खेल मंगलबारबाट सुरु हुने भएकाे छ।
क्वाटरफाइनल सकिएसँगै सेमिफाइनको खेल सुरु हुन लागेकाे हाे।
पहिलो सेमिफाइनलमा मंगलबार बिहान आयोजक ब्राजिल र पेरूबीच खेल हुँदैछ। साविक विजेता ब्राजिल र पेरूबीचकाे खेल रियो दि जेनेरियोमा बिहान ४:४५ बजेदेखि सुरू हुनेछ।
जारी प्रतियोगितामै यी टोली दोस्रो पटक आमनेसामने हुँदैछन्। यसअघि समूह चरणमा भएको खेलमा ब्राजिलले पेरूलाई ४-० गोलले पराजित गरेको थियो।
समूह 'बी' बाट १० अंक जोडेको ब्राजिल शीर्षस्थानमा रहँदै क्वाटरफाइनलमा स्थान बनाएकाे थियाे। यता, ७ अंक जोडेको पेरु दोस्रो स्थानमा रहँदै क्वाटरफाइनलमा प्रवेश गरेकाे थियाे।
क्वाटरफाइनलमा ब्राजिलले चिलीमाथि १-० को जित निकालेको थियो। यता, पेरुले पाराग्वेलाई पेनाल्टी सुटआउटमा ४-३ ले पराजित गर्दै सेमिफाइनलको यात्रा तय गरेको थियो।
मंगलबारकाे खेलमा ब्राजिलका फरवार्ड गाब्रियल जेसस उपलब्ध हुनेछैनन्। चिलीविरुद्धको खेलमा रातो कार्ड पाएका कारण उनी एक खेलको प्रतिबन्धमा छन्। यता, एथ्लेटिको म्याड्रिडका डिफेन्डर फिलिप मोन्टेइरो पनि खेल्ने छैनन्। उनी घाइते भएका छन्।
नेइमारसँगै रिचार्लीसन र रोबर्टो फिर्मिनोले ब्राजिलका अग्रपंक्तिमा सम्हाल्ने छन्। ब्राजिल पछिल्लो ११ खेलमा अपराजित छ। सन् २०२० र २०२१ खेलेका ८ खेलमा ब्राजिलले गोल खाएको छैन।
पेरुले पछिल्लो पटक सन् १९९५ मा कोपा अमेरिकाको उपाधि जितेको थियो। सन् २०१९ को फाइनलमा पुगेको पेरू उपाधि भिडन्तमा ब्राजिलसँग पराजित भएको थियो।
पेरुका विंगर आन्द्रे करिल्लो ब्राजिलविरुद्धकाे खेलमा हुने छैनन्। रातो कार्ड पाएका कारण उनी पनि एक खेलको प्रतिबन्धमा छन्।
दोस्रो सेमिफाइनलमा बुधवार बिहान अर्जेन्टिना र कोलम्बिया भिड्नेछन्।
क्वाटरफाइनलको खेलमा इक्वेडरलाई ३-० ले हराउँदै अर्जेन्टिना सेमिफाइनल प्रवेश गरेको थियाे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।