काठमाडाैं- भरतपुर महानगरपालिका–१ आँपटारीमा ट्रकले दुई वटा स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ। दुर्घटनामा तीनजना घाइते भएका छन्।
नारायणगढबाट लमजुङतर्फ जाँदै गरेको न१ख ९७५६ नम्बरको ट्रकले विपरीत दिशाबाट आइरहेका प्रदेश ३–००३ प ३५४३ र प्रदेश २–०३–००७ प ७१९६ नम्बरका स्कुटरलाई ठक्कर दिँदा दुर्घटना भएको हो।
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार मृत्यु हुनेमा ३५४३ नम्बरको स्कुटर पछाडि सवार तनहुँ देवघाट गाउँपालिका–१ बस्ने अन्दाजी ४० वर्षीया चिनिमाया पौडेल रहेकी छिन्।
घाइतेमध्ये ३५४३ नम्बरको स्कुटर चालक भरतपुर महानगरपालिका–११ निवासी ३५ वर्षीय पुष्पराज बाँस्तोलाको कलेज अफ मेडिकल साइन्सेसमा उपचार भइरहेको छ। उनको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।
यसैगरी ७१९६ नम्बरको स्कुटर चालक देवघाटका ३० वर्षीय तिलबहादुर गुरुङ र सोही स्कुटरको पछाडि सवार देवघाटकै ३५ वर्षीय सिरु गुरुङको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ।
उनीहरूको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ। मृतक पौडेलको शव भरतपुर अस्पतालको शवगृहमा राखिएको छ। ट्रक र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।