हेटाैंडा- केही दिनदेखि परेको अविरल वर्षाका कारण गएराति गएको पहिराेले मकवानपुरको बिकट राक्सिरागङ र कैलाश गाउँपालिकामा सातवटा घर भत्किएका छन्। त्यसका साथै ती घरपरिवारका लाखौँ मूल्य बराबरको धनमाल क्षति भएको छ।
राक्सिरागङ–७ स्थित चरिमारमा आएको पहिराेले घरहरू भत्काएको हो र केही गोठ बगाएको गाउँपालिका अध्यक्ष राजकुमार मल्लले जानकारी दिए।
मल्लका अनुसार स्थानीय वीरबहादुर सुनारको कच्चीघर, सोही वडाका दुुगुंवागंमा वुद्दिलाल प्रजाको गोठ र गोठमा रहेको तीनवटा गोरु बगाएको र सोमबहादुर प्रजाको घर पहिरोले पुरेको छ।
यस्तै, सोही वडाको धकागं टोलमा रहेको वनैलीमाया प्रजाको घर पहिराेले बगाएको छ। अन्य चारा घर जोखिममा रहेको बताइएको छ। पानी परिरहेकाले प्रभावितको उद्दार गरी सुरक्षित स्थानमा पठाउन कठिनाई भएको अध्यक्ष मल्लले जानकारी दिए।
त्यसैगरी बिकट क्षेत्रका रुपमारहेको कैलाश गाउँपालिकाको वडा नम्वर २, ३ र ४ मा तीनवटा घर पहिराेले भत्काएको छ। गाउँपालिकाका विपद् व्यवस्थापन समितिका ‘फोकल पर्सन’ श्यामकुुमार महतोका अनुसार धेरै खेतहरू पहिराेले पुरिएको र चौपायाहरू मरेका छन्। सो गाउँपालिकाको विभिन्न वडामा क्षति पुुगेको छ तर सञ्चार सुविधाले नहुँदा विस्तृत विवरण सङ्कलन र जनतालाई राहत पुर्याउन सकिएको छैन।
कैलाशको वडा नम्वर १० का ३५ घर जोखिममा परेको स्थानीयवासीले बताएका छन्। सो वडाको विभिन्न स्थानमा गएका पहिराेले घर जोखिममा परेको हो। स्थानीय मिरा स्याङ्तानका अनुसार सो वडाको सुकुभज्यागङ्, दरवार डाँडा, दुवेखेत, खोला खेत, तिलडाँडामा गए राति परेको अविरल वर्षाले ३५ घरका १७५ जोखिममा परेका छन्।
महिला, बालबालिका र ज्येष्ट नागरिक आ आफ्ना घर छोडेर सुरक्षित स्थानमा बसेका छन्। त्यसक्षेत्रमा मोवाइल नेट र विधुत् समस्या पनि भएको बताइएको छ। हेटौंडा सदरमुकामभन्दा टाढा रहेकाले राहत र उद्धारमा समस्या रहेको जिल्ला प्रशासन कार्यालय मकवानपरले जनाएको छ।
यता हेटौंडा उपमहानगरपालिकाका विभिन्न क्षेत्रमा खोला नालामा आएको बाढीले त्यहाँका बासिन्दा समस्या परेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।