काठमाडौं– इंग्ल्यान्ड जारी युरोकपको सेमिफाइनलमा प्रवेश गरेको छ। शनिबार मध्यरातमा सम्पन्न क्वाटरफाइनलको अन्तिम खेलमा युक्रेनमाथि ४–० को जित निकाल्दै इंग्ल्यान्ड सेमिफाइनलमा प्रवेश गरेको हो।
इंग्ल्यान्ड २५ वर्षपछि युरोकपको सेमिफाइनलमा प्रवेश गरेको हो। यसअघि इंग्ल्यान्ड सन् १९९६ मा सेमिफाइनल पुगेको थियो।
इंग्ल्यान्डलाई जित दिलाउन कप्तान ह्यारी केनले दुई गोल गरे भने ह्यारी मग्वाएर र जोर्डन हेण्डरसनको नाममा एक/एक गोल रह्यो।
इटालीको स्टाडियो ओलम्पिको स्टेडियममा भएको खेलमा कप्तान केनले गोल गर्दै इंग्ल्यान्डलाई सुरुवाती अग्रता दिलाएका थिए। खेलको चौथो मिनेटमै रहिम स्ट्रर्लिङको पासमा उनले गोल गरेका थिए।
पहिलो हाफमा १–० गोलले अघि रहेको इंग्ल्यान्डले दोस्रो हाफमा थप तीन गोल गर्यो। खेलको ४६औं मिनेटमा डिफेन्डर मग्वाएरले गोल गर्दै इंग्ल्यान्डलाई २–० को अग्रता दिलाए।
खेलको ५०औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दै केनले इंग्ल्यान्डको अग्रता तेब्बर बनाए। त्यसपछि खेलको ६३ औं मिनेटमा परिवर्तित खेलाडी हेण्डरसनले गोल गर्दै इंग्ल्यान्डलाई ४–० को जित दिलाए।
इंग्ल्यान्डले सेमिफाइनलमा डेनमार्कसँग प्रतिस्पर्धा गर्नेछ। डेनमार्क शनिबार राति सम्पन्न अर्को खेलमा चेक रिपब्लिकलाई २–१ गोल अन्तरले पराजित गर्दै अन्तिम चारमा पुगेको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।