काठमाडाैं- डेनमार्क युराेकप २०२० काे सेमिफाइनलमा प्रवेश गरेकाे छ।
शनिबार अजरबैजानस्थित बाकु ओलम्पिक स्टेडियममा भएकाे तेस्राे क्वारटरफाइनलमा चेक गणतन्त्रलाई २-१ गाेल अन्तरले पराजित गर्दै डेनमार्क अन्तिम चारमा पुगेकाे हाे।
खेलकाे सुरुवातीदेखि नै बल पाेसेसनमा पकड राख्दै आक्रमण बुनेकाे डेनमार्कले पाँचाै मिनेटमा अग्रता लिएकाे थियाे।
जेकब ब्रून लार्सनको कर्नरमा थोमस डिलेनीकाे हेडर भुइँमा लाग्दै गोलमा परिणत भएको थियो।
४२औं मिनेटमा डेनमार्कका कास्पर डोलबर्गले अग्रता दोब्बर पारे। बाहिरि भागबाट जोकिम माहलेले दिएको पासलाई उनले फस्ट टचमा गोल गरे।
यस्तै, दाेस्राे हाफमा सुधारिएकाे प्रदर्शन गरेकाे चेकले एक गाेल फर्काएकाे थियाे। उसका स्टार खेलाडी प्याट्रिक शिकले ४९औं मिनेटमा खेललाई २–१ काे स्थितिमा ल्याएका थिए।
भ्यादिमिर साैफालले डिबक्स बाहिरबाट दिएकाे पासलाई नियन्त्रणमा लिँदै शिकले गरेकाे प्रहार सिधैं गाेलमा परिणत भएकाे थियाे।
उनले जारी प्रतियाेगितामा एक पेनाल्टीसहित सर्वाधिक ५ गाेल गरेका छन्। यस्तै, पाेर्चुगलका स्टार खेलाडी क्रिस्टियानाे राेनाल्डाेले पनि ५ गाेल गरेका छन्। उनले ३ गाेल पेनाल्टीमार्फत् गरेका थिए।
पाेर्चुगल विश्व वरीयतामा पहिलाे स्थानमा रहेकाे बेल्जियमसँग पराजित हुँदै अन्तिम १६ बाट बाहिरिएकाे थियाे।
बेल्जियम पनि दाेस्राे क्वाटरफाइनलमा इटालीसँग २-१ गाेल अन्तरले पराजित हुँदै प्रतियाेगिताबाट बाहिरि सकेकाे छ।
अब डेनमार्कले चौथो क्वाटरफाइनलको विजेतासँग फाइनल प्रवेशका लागि खेल्नेछ। अन्तिम क्वाटरफाइनलमा इंग्ल्यान्ड र युक्रेन आज मध्यरात १२:४५ बजे खेल्दैछन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।