गोरखा- गोरखाको आरुघाट गाउँपालिका–१ श्यामचेतका एक युवकको खोलाले बगाएर मृत्यु भएको छ।
शुक्रबार बिहान करिब ९ः३० बजे आरुघाट गाउँपालिका–३ स्थित फुंगीखोला तर्ने क्रममा चिप्लिएपछि खोलाले बगाएका २६ वर्षीय किरण लामाको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरीक्षक प्रकाश दाहालले जानकारी दिए।
खोलाले बगाएर करिब २० मिटर तल पुर्याएको र पानीको भेलले लामालाई किनारामा फालेपछि स्थानीयवासीले देखेर उद्धार गरेको उनले जानकारी दिए।
अचेत अवस्था उद्धार गरिएका लामालाई उपचारका लागि आरुघाट प्राथमिक स्वास्थ्य केन्द्रमा पुर्याइएको थियो। उनको उपचार गर्दागर्दै करिब ११ बजे मृत्यु भएको प्रहरी नायब उपरीक्षक दाहालले बताए।
लगातारको वर्षाका कारण उर्लिएर आएको फुंगीखोला लामालाई बगाएको हो। शव परीक्षण गरी परिवारलाई बुझाउने तयारी भइरहेको प्रहरीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।