काठमाडौं- काठमाडौंको पुरानो फुटबल क्लब न्युरोड टिम (एनआरटी)ले असोज पहिलो साताबाट हुने सहिद स्मारक ए डिभिजन लिगका लागि दुई विदेशी खेलाडीलाई अनुबन्ध गरेको छ।
एनआरटीले आगामी असोज ३ गतेबाट हुने लिगका लागि मासुके ओलुमो र स्टेफेन समिरलाई अनुबन्ध गरेको हो। क्लबले दुई विदेशी खेलाडीलाई १० महिनाका लागि सम्झौता गरेको जनाएकाे छ।
चार पटकको च्याम्पियन एनआरटीले मिडफिल्डर मोसुके र फरवार्ड स्टेफेनले नेपाल सुपर लिग (एनएसएल) काठमाडौं रेजर्स एफसीबाट खेलेका थिए। उनीहरुकै प्रदर्शबाट काठमाडौंले उपाधि उचालेको थियो। मोसुके एनएसएलको सर्वाधिक गोलकर्ता पनि हुन्।
ए डिभिजन लिग यो संस्करणको सुरुआतमा सिंगल राउन्डका खेल हुनेछन्। त्यसपछि दोस्रो राउन्डमा शीर्ष आठमा परेका टोलीले उपाधिका लागि पुन: लिग खेल्ने प्रावधान अखिल नेपाल फुटबल संघ (एन्फा)ले बनाएको छ।
लिगका लागि एनआरटीले पुराना १२ खेलाडीलाई समेटेर प्रशिक्षक राजुकाजी शाक्यले प्रशिक्षण दिरहेका छन्।
उनले नयाँ विदेशी खेलाडीको अनुबन्धले टोलीमा हौसला मिलेको प्रतिक्रिया दिए। एनआरटीले उपाधि उचाल्ने लक्ष्यका साथ आउँदो प्रतिस्पर्धा गर्ने शाक्यले बताए।
एनआरटीले चार विदेशी खेलाडी राख्न पाउने प्रावधान अन्तर्गत दुई खेलाडीलाई गरेको हो। आगामी दिनमा थप खेलाडि अनुबन्ध गरिने क्लबका अध्यक्ष सुन्दर नरसिंह जोशीले बताए।
एनआरटीले २०१७, २०१९, २०३५ र २०५२ सालमा ए डिभिजन लिगको उपाधि जितेको थियो। एनआरटीले लिगका लागि करिब १ करोड ६० लाख बजेट छट्याएको जनाएको छ।
ए डिभिजन लिगमा तीन विभागीय टोली सहित १४ क्लबले प्रतिस्पर्धा गर्दैछन्। लिगमा बी डिभिजन लिगबाट बढुवा भएको सातदोबाटो युथ क्लबले ए डिभिजन लिगमा प्रतिस्पर्धा गर्नेछ भने लिगको पुछारमा रहेर लिग टुङ्गाएको सरस्वती यो सिजन हुनेछैन।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।