काठमाडाैं- इटाली संघर्षपूर्ण जित निकाल्दै युराेकप २०२० फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ।
जर्मनीको एलिनाज स्टेडियममा शुक्रबार राति भएकाे दाेस्राे क्वाटरफाइनल खेलमा बेल्जियमलाई २–१ गाेल अन्तरले पराजित गर्दै इटाली अन्तिम ४ मा पुगेकाे हाे।
खेलको सुरुवाती समयदेखि नै दुवै टोलीले आक्रमण बुन्दै गएपछि तीनै गाेल पहिलाे हाफमा सम्भव भएकाे थियाे। खेलकाे ३१औं मिनेटमा निको बरेल्लाले गोल गर्दै इटालीलाई सुरुवाति अग्रता दिलाएका थिए।
उनले पेनाल्टी क्षेत्रभित्र मार्को भेराट्टीले दिएको पासलाई नियन्त्रणमा लिएर गरेकाे प्रहार गोल भएको थियो।
४४औं मिनेटमा लोरेन्जो इन्सिग्नेले इटालीको अग्रता दोब्बर पारे। मैदानको बायाँ भागबाट बल लिँदै अघि बढेका इन्सिग्नेको प्रहारलाई गोलरक्षक थिबाउट कोर्टुवाले बचाउन सकेनन्।
इन्ज्युरी समयमा रोमेलु लुकाकुले पेनाल्टीमा गोल गर्दै खेल २–१ काे स्थितिमा ल्याए।
इटालीका डिफेन्डर डी लोरेन्जोले डोकुलाई पेनाल्टी क्षेत्रभित्र लडाएपछि रेफ्रीले पेनाल्टी दिएका थिए। उक्त पेनाल्टीमा लुकाकुकाे प्रहार गोलरक्षक जियानलुइजी डोनारुम्माले ठम्याउन सकेनन्।
दोस्रो हाफमा आक्रमक खेलेकाे बेल्जियम बराबरीकाे स्थितिमा भने फर्किन सकेन। ६१औं मिनेटमा केभिन डी ब्रुएनको लो क्रसलाई लुकाकुले गोललाइन नजिकबाट गोल गर्न सकेनन्।
इटालीले अब सेमिफाइनलमा स्पेनको सामना गर्नेछ। स्पेनले पहिलो क्वाटरफाइनलमा १० खेलाडीमा समेटिएको स्विट्जरल्यान्डलाई टाइब्रेकरमा ३-१ ले हराउँदै अन्तिम ४ मा स्थान बनाएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।