काठमाडाैं- स्पेन युरोकप २०२० फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ। रुसको सेन्ट पिटर्सवर्ग स्टेडियममा शुक्रबार राति भएको पहिलो क्वाटरफाइनलमा स्विट्जरल्यान्डलाई पेनाल्टी सुटआउटमा ३-१ गोल अन्तरले पराजित गर्दै स्पेन अन्तिम ४ मा पुगेको हो।
१० खेलाडीमा सिमित स्विसका कप्तान जेर्दान शकिरीले टोलीलाई १–१ गाेलकाे बराबरीमा ल्याएपछि खेल अतिरिक्त समयमा धकेलिएकाे थियाे।
अतिरिक्त समयमा पनि दुवै टाेलीबाट गाेल हुन सकेन र खेल टाइब्रेकरमा पुग्याे। जसमा तीन पटककाे विजेता स्पेनका गोलरक्षक उनाइ सिमोनले स्विस टाेलीको दुई प्रहार बचाए।
पेनाल्टीमा स्विस टाेलीका मारियो गाभ्रानोभिचले मात्र गोल गरे। फाबियन, अकान्जी म्यानुएलको प्रहार सिमोनले बचाए भने रुबेन भेर्गासको प्रहार बाहिरिएको थियो।
यता, स्पेनका डानिल ओल्मो, जेरार्ड मोरेनो र मिकेल ओयार्जबलले गोल गरे। सर्जियो बुस्केट्सको प्रहार पोस्टमा लागेर फर्किदा रोड्रीको प्रहार स्विस गोलकिपर यान सोमेरले बचाए।
त्यसभन्दा अगाडी खेलको आठौं मिनेटमा नै स्पेनले अग्रता लिएको थियो। कर्नरमा कोकेको प्रहार सबैलाई बिट गर्दै गएपछि जोर्डी अल्बाले बल नियन्त्रणमा लिएका थिए।
पेनाल्टी क्षेत्र बाहिरबाट उनले गरेकाे प्रहार डेनिस जाकारियालाई लाग्दै गोल भएको थियो।
यस्तै, ६८औं मिनेटमा स्पेनका सेन्टर डिफेन्डर द्वय पाउ टोरेस र एमेरिक लापोर्टबीच तालमेल नमिल्दा फुस्किएको बल फ्रुएलरले नियन्त्रणमा लिँदै शाकिरिलाई दिएका थिए। शाकिरीले गरेको प्रहार गोल भएकाे थियाे।
अब स्पेनले सेमिफाइनलमा इटाली र बेल्जियमको विजेतासँग खेल्ने छ। यो दोस्रो क्वाटरफाइनल खेल केहीबेर पछि सुरु हुनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।