चितवन- भरतपुर अस्पतालमा कोभिडका बिरामी घटेसँगै सुत्केरी सेवा लिनेको सङ्ख्या बढेको छ। कोभिडका बिरामी बढी हुँदा जोखिम वढ्न सक्ने भन्दै बाहिर महङ्गो खर्चमा सुत्केरी गराउने गरिएको थियो।
भरतपुर अस्पतालमा निःशुल्क प्रसूति सेवा दिइन्छ। शल्यक्रिया गर्नुपरेमा त्यही सेवाका लागि नीजिमा चर्को शुल्क असुल्ने गरिन्छ। अस्पतालका स्त्री तथा प्रसूति रोग विभागका प्रमुख डा. सुनिलमणि पोख्रेल कोभिडका बिरामी घटेसँगै प्रसूतिका बिरामी बढेको बताउँछन्।
कोभिडका बिरामी धेरै हुँदा दैनिक १२ देखि १५ जना अस्पतालमा सुत्केरी हुने गरेकोमा यो सङ्ख्या बढेर २० देखि २५ पुगेको उनको भनाइ छ। विगतका वर्षहरुमा अस्पतालमा दैनिक ३५ देखि ५० जना सम्मले सो सेवा लिएको स्मरण गर्दै उनले क्रमशः बढ्दै जाने बताए।
प्रसूतिमध्ये ३६ प्रतिशत हाराहारीको शल्यक्रिया गरिने गरेको पोख्रेल बताउछन्। विगतमा यो प्रतिशत ३० हाराहारी थियो। कोभिडका बिरामी बढ्दै गर्दा पनि भरतपुर अस्पताल सुत्केरीका लागि सुरक्षित रहेको उनको तर्क छ। अस्पतालको स्त्रीरोग विभागमा १२ विषेशज्ञ चिकित्सकसहित स्नातकोत्तर गर्दै गरेका चिकित्सक र ७० नर्स छन्।
अस्पतालका रहेका क्याबिनमा कोभिडका बिरामी रहेकाले सुत्केरी भएकालाई समस्या भएको छ। हाल १४ पुराना क्याबिनबाहेक अन्यत्र सबैमा कोभिडका बिरामी छन्। अस्पताल विकास समितिका अध्यक्ष डा. भोजराज अधिकारीले यो हप्ता हेरेर अर्को हप्ताबाट कोभिडका बिरामी राखिएको क्याबिन खाली गरेर सुत्केरी लगायतका बिरामीलाई दिइने बताए।
अस्पतालका सूचना अधिकारी लिलाधर पैडेलले असार १ गते १२ जना सुत्केरी भएकोमा १५ गते २४ पुगेको जानकारी दिए। अस्पतालमा एक सय ९० कोभिडका बिरामी राख्न मिल्छ। कोभिडका बिरामी बढ्दा जेठको पहिलो साता अधिकांश शय्या भरिएको पौडेलले बताए। आज यो सङ्ख्या ७० मा झरेको छ। अस्पतालमा कोरोना सङ्क्रमित महिलाकोसमेत प्रसूति गरिन्छ।
यहाँ चितवनसहित १९ जिल्लाका महिला प्रसूतिलाई आउँछन्। धेरै मकवानपुर, नवलपरासी र गोरखाका हुन्छन्। कोभिडका कारण टाढाका सुत्केरीले जिल्ला अस्पतालमा सेवा लिने गरेपनि पछिल्ला दिनमा ती जिल्लाका बिरामी आउनेक्रम बढेको छ। अस्पतालमानै शिशु सघन उपचार कक्ष समेत भएकाले सहज भएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।