काठमाडौं- साफ च्यापियनसिप र एसियन कपको तयारीका लागि बन्द प्रशिक्षणमा बोलाइएका राष्ट्रिय फुटबल टिमका खेलाडी, अखिल नेपाल फुटबल संघ (एन्फा) का पदाधिकारी र स्टाफसहित २० जनाकाे दाेस्राे काेराेना परीक्षण रिपाेर्ट नेगेटिभ आएकाे छ।
टिमकाे बन्द प्रशिक्षण सुरु हुनुभन्दा अगाडि बुधबार कोरोना परीक्षणका लागि उनीहरुकाे स्वाब संकलन गरिएको थियो।
जसमा बुधबार बेलुका रिपोर्ट आउँदा ११ जना खेलाडीसहित २० जनालाई पोजेटिभ देखिएको थियो। त्यही कारण बिहीबारदेखि सुरु हुने भनिएको बन्द प्रशिक्षण टेक्निकल समस्या भन्दै एन्फाले स्थगित गरेकाे थियाे।
तर, ललितपुरको स्टार अस्पतालमा बिहीबार पुन: कोरोना परीक्षण गर्दा सबैको नतिजा नेगेटिभ आएको एन्फाका प्रवक्ता किरण राईले नेपाल लाइभलाई जानकारी दिए।
‘अस्ति बिहान बिध ल्याबमा गरिएको परीक्षण रिपोर्ट बेलुका आउँदा २० जनाको पोजिटिभ देखियो। जसमा ११ जना र ९ जना अफिसियल थिए,’ उनले भने, ‘हामीले पोजिटिभ आएका सबैको पुन: परीक्षण गरायौं। जसमा हिजो ११ खेलाडी र दुई एन्फा पदाधिकारीको रिपोर्ट नेगेटिभ आएको थियो। आज बिहान थप ७ जनाको रिपोर्ट नेगेटिभ आयो।’
कुवेत भएको विश्वकप छनोट खेलेर फर्किएको टिमले १३ दिन अगाडि मात्रै कोरोनाविरुद्धको खोपको पहिलो डोज लगाएका थिए।
यद्यपि, राष्ट्रिय फुटबल टिमका प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले त्यही टाेलीमा ३२ जना खेलाडी थप्दै ५० खेलाडीलाई साफ च्याम्पियनसिप र एएफसी कपको छनोटको तयारी गर्न बन्द प्रशिक्षणमा बाेलाएका थिए।
प्रशिक्षण एन्फा कम्प्लेक्स सातदोबाटोमा हुने तय छ। यद्यपि, अब एक साता पछिबाट मात्र प्रशिक्षण सुरु गर्ने एन्फा प्रवक्त राईले जानकारी दिए।
‘केही दिन खेलाडी र पदाधिकारीहरु होम आइसोलेसनमा बस्नुहुन्छ। त्यसपछि हामी पुन: प्रशिक्षण सुरु गर्छौं,’ उनले भने। उनका अनुसार प्रशिक्षण दुई चरणमा हुनेछ। एउटा टोलीले बिहान तथा अर्को टोलीले अपराह्न अभ्यास गर्नेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।