काठमाडाैं- नेपाली राष्ट्रिय फुटबल टोलीका ११ खेलाडीसहित २० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। टिमको बन्द प्रशिक्षण सुरु गर्नु अघि गरिएको परीक्षणमा उनीहरुकाे रिपाेर्ट पोजेटिभ देखिएको हो।
अखिल नेपाल फुटबल संघ (एन्फा)का प्रवक्ता किरण राईले ११ खेलाडी,एन्फाका २ पदाधिकारी र एन्फा स्टाफ गरी २० जनाको कोरोना रिपोर्ट पोजेटिभ देखिएकाे पुष्टि गरेका हुन्।
‘बन्द प्रशिक्षण सुरु गर्नु अघि गरिएको कोरोना परीक्षणमा ११ खेलाडीसहित २० जनामा कोरोना संक्रमण देखिएको छ,’ उनले नेपाल लाइभसँग भने,‘ शंका लागेर पुन: परीक्षण गरेका छौं। केहीबेरमा रिपोर्ट आउँछ।’
उनका अनुसार कोरोना देखिएका खेलाडी र अफिसियल होम आइसोलेसनमा रहेका छन्। संक्रमित खेलाडी सबैको स्वास्थ अवस्था सामान्य रहेको उनको भनाइ छ।
एन्फाले बिहीबार बिहान प्राविधिक कारण देखाउँदै प्रशिक्षण स्थागित गरिएको सामाजिक सञ्जालमार्फत जानकारी दिएको थियो। अब एक साता पछिबाट मात्र प्रशिक्षण सुरु गर्ने एन्फाले जनाएको छ।
‘विश्वकप र एसियन कप छनोट खेलेर कुवेतबाट फर्केका सबै खेलाडीले कोरोनाविरुद्धकाे खाेप १२ दिन पहिले लगाएका थिए,’ एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पाले भने,‘ सिटी भ्यालू बढी देखिएकाले पुनः परीक्षण गरेका छौं।’
उनले खेलाडी कतारबाट फर्किएपछि सिधै बन्द प्रशिक्षणमा नआएको र बाहिरबाट समेत खेलाडी बोलाइएकोले केहीमा कोरोना संक्रमण भएको हुनसक्ने जानकारी दिए।
प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले दुई साता अघि साफ च्याम्पियनसिपका लागि ५० खेलाडी बन्द प्रशिक्षणमा बाेलाएका थिए।
उनले खेलाडीलाई दुई समूहमा विभाजन गरेर दुई सेसनमा प्रशिक्षण दिने जानकारी दिएका थिए। १४ देखि २५ सेप्टेम्बरसम्म बंगलादेशमा हुने साफ प्रतियोगिताको अन्तिम मिति र खेल तालिका केही दिनमा नै सार्वजनिक हुने बताइएकाे छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।