काठमाडाैं- इंग्लिस प्रिमियर लिग क्लब एभर्टनले लिभरपुलका पूर्वप्रशिक्षक राफाएल बेनिटेजलाई क्लबको मुख्य प्रशिक्षकमा नियुक्त गरेको छ।
कार्लो एन्सेलोटिले स्पेनिस क्लब रियल मड्रिडमा अनुबन्धित भएपछि एभर्टनले ६१ वर्षीय बेनिटेजलाई जिम्मेवारी सुम्पिएको हो।
‘म एभर्टनसँग जोडिन पाउँदा खुसी छु। मलाई लाग्छ यो क्लब राम्रो स्थानमा जाँदैछ। म क्लबको अझ धेरै सफलता हासिल गर्ने लक्ष्यमा आफ्नो भूमिका निर्वाह गर्न चाहन्छु,’ नियुक्तिपछि बेनिटेजले भने।
स्पेनी प्रशिक्षकलाई बेनिटेजले पछिल्लोपटक सन् २०१९ जुनसम्म प्रिमियर लिग क्लब न्युकासल युनाइटेडको जिम्मेवारी सम्हालेका थिए। त्यसपछि १८ महिना उनी चिनियाँ क्लब डालियन प्रोफेसनल एफसीमा रहेका थिए। उनी जनवरीदेखि कुनै क्लबमा आबद्ध थिएनन्।
यसअघि इन्टर मिलान, रियल मड्रिड, चेल्सी लगायत क्लबमा बेनिटेजले प्रशिक्षकको रुपमा काम गरिसकेका छन्।
‘पछिल्ला तीन हप्तामा व्यापक रुपमा भरपर्दो प्रशिक्षक खोजि रहेका थियाैं। धेरै सोच विचारपछि बेनिटेजलाई नियुक्त गरिएको हो। उनले ५ जुलाईदेखि प्रि–सिजन प्रशिक्षणको लागि टोलीसँगै काम सुरु गर्नेछन्,’ क्लबले भनेको छ।
एभर्टनका बहुमत शेयरधारक फरहाद मोशीरीले आफूलाई प्रभावित गरेकै कारण बेनिटेजलाई जिम्मेवारी दिएको बताए।
‘बेनिटेजले हामीलाई आफ्नो ज्ञान र अनुभवबाट धेरै प्रभावित गर्नुभयो। तर, सबैभन्दा महत्त्वपूर्ण कुरा उहाँ जोखिम माेलेर हाम्रो क्लबमा अनुबन्धित हुनुभएकाे छ,’ उनले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।