काठमाडौं- ललितपुर जिल्लाका रोटरी क्लबहरूको सञ्जालले सिन्धुपाल्चोकका बाढी पीडितका लागि २७५ थान प्रेसरकुकर सहयोग गरेको छ।
ललितपुर जिल्लामा रहेका १७ वटा रोटरी क्लबहरूको सञ्जालले मंगलबार राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमार्फत् २७५ थान प्रेसरकुकर सहयोग गरेको हो।
बाढी पीडितलाई प्रेसकुकरको आवश्यकता रहेको भन्ने सूचनाका आधारमा आफूहरूले सहयोग गरेको रोटरी क्लब सञ्जालका संयोजक सुरेश आचार्यले बताए। आफूहरूले राज्यको निकायलाई सहयोग हस्तान्तरण गरेर विपत्तिमा एकद्वार प्रणालीमार्फत् राहत तथा सहयोग वितरण गर्नुपर्छ भन्ने सन्देश दिन चाहेको उनले बताए।
सहयोग बुझ्दै राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख डा. अनिल पोखरेलले राहत वितरणमा एकद्वार प्रणालीमा कसरी जान सकिन्छ भन्ने उदाहरण यो सञ्जाल बनेको बताए। उनले छिटोभन्दा छिटो बाढी पीडितका लागि आएको प्रेसरकुकर प्रभावितको हातमा पुर्याउने प्रतिवद्धता जनाए।
असार १ गते सिन्धुपाल्चोकमा आएको बाढीका कारण मेलम्ची नगरपालिका र हेलम्बु गाउँपालिकामा निकै ठूलो धनजनको क्षति भएको थियो। बाढी प्रभावितहरूका लागि अझैपनि विभिन्न निकायमार्फत् राहत वितरण भइरहेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।