काठमाडाैं- युराेकप २०२० अन्तर्गत स्पेन र क्रोएसियाबीच जारी राउन्ड अफ १६ काे खेल अतिरिक्त समयमा लम्बिएको छ। डेनमार्कको पार्केन एरिनामा भइरहेकाे खेलमा दुवै टाेलीबाट निर्धारित समयमा ३-३ गाेल भएपछि खेल अतिरिक्त समयमा धकेलिएकाे हाे।
एकतर्फी आक्रमण गर्दै क्रोएसियालाई दबाबमा राखेको ३-१ को स्थितिबाट अन्तिम समयमा २ गोल खाएपछि खेल अतिरिक्त समयमा पुगेकेा हाे। खेलको २०औं मिनेटमा पेड्रीले मैदानको बीच भागबाट गोलरक्षक उनाइ सिमोनलाई दिएको पास गोल भएको थियो।
ठिक अगाडी पुग्दा उनले बल रोक्ने प्रयास गर्दा खुट्टामा लाग्दै पोस्टमा छिरेको थियो। युरोको यस संस्करणमा यो नवौं आत्मघाती गोल हाे।
३८औं मिनेटमा पाब्लो सराबियाले गोल गर्दै स्पेनलाई बराबरीमा ल्याए। जोसे गायाको सुरुवाती प्रहारलाई गोलरक्षक लिभाकोभिचले विफल पारेपनि रिबाउन्डमा सराबीयाले गाेल गरे।
दोस्रो हाफमा स्पेनले आफ्नो आक्रमणलाई जारी राख्दै २ गाेलकाे अग्रता लिएकाे थियाे। तर, क्रोएसिया अन्त्यतिर दुई गोल गर्दै खेलमा फर्कियाे।
५७औं मिनेटमा सेजार एज्पिलीक्वेटाले गोल गर्दै स्पेनलाई २-१ काे अग्रता दिलाएका थिए। फेरान टोरेसको क्रसमा एज्पिलीक्वेटाले हेडरमार्फत् गोल गरेका थिए। याे उनकाे करिअरको पहिलो अन्तर्राष्ट्रिय गोलसमेत हाे।
७२औं मिनेटमा मोराटाले अग्रता दोब्बर पारेपनि भीएआरले गोललाई मान्यता दिएन। मोराटाले सहज गोल गरेपनि उनी बल आउनुअघि नै गोललाइन नजिक रहेकाले भीएआरले अफसाइडको निर्णय दिएको थियो।
त्यसकाे ५ मिनेटपछि स्पेनले अग्रता दोब्बर पार्यो। पाउ टोरेसको लामो पासलाई पेनाल्टी क्षेत्रभित्र उत्कृष्ट ढंगले नियन्त्रणमा लिँदै फेरान टोरेसले गोल गरेका थिए।
८५औं मिनेटमा ६ यार्ड बक्सभित्र मिस्लाभ ओर्सिचले गाेल गर्दै क्राेएसियालाई ३-२ काे स्थितिमा ल्याए।
लगातार एकपछि अर्को प्रहार गरेको क्रोएसियाको प्रहार स्पेनिस डिफेन्सले क्लिअर गरेपनि भिडियो असिस्टेन्ट रेफ्रीले ओर्सिचको प्रहारलाई एज्पिलीक्वेटाले पोस्टभित्र छिरेर रोकेपछि गोलको मान्यता दिएकाे थियाे।
इन्ज्युरी समयको दोस्रो मिनेटमा मारिओ पासलीचले गोल गर्दै खेल ३-३ काे बराबरीमा ल्याए। उनले मिस्लाभ ओर्सिचको क्रसलाई हेडरमार्फत् गोल गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।