काठमाडाैं- सहिद स्मारक ए डिभिजन लिग असोजकाे पहिलाे साताबाट शुरु हुने भएकाे छ। सोमबार अखिल नेपाल फुटबल संघ (एन्फा) र ए डिभिजनका १४ क्लबका प्रतिनिधिहरुको बैठकले लिग असोज ३ बाट गर्ने निर्णय गरेको हो।
एन्फाले प्रतियोगिता असोजबाट शुरु हुने जनाएपनि सकिने मिति खुलाएको छैन। यस अगाडी एन्फाको क्यालेन्डरमा लिग भदौदेखि चैतसम्म सञ्चालन गर्ने उल्लेख छ।
तर, काेराेना महामारीका कारण एन्फाले गतवर्षदेखि लिग आयाेजना गर्न सकेकाे थिएन। यसपटक नेपाल सुपर लिग (एनएसएल) को आगमनसँगै ए डिभिजन क्लब र एन्फामाथि दबाब परेको हो।
यस सिजनको लिग करिब ६ महिना सञ्चालन गर्ने तयारी गरेको एन्फाले जनाएकाे छ। एन्फाले लिगका लागि जुलाई ३० बाट खेलाडी दर्ता खुला हुनेसमेत जनाएको छ।
तर, राष्ट्रिय टोलीले साफ च्याम्पियनसिपमा भाग लिने खेलाडी भने प्रतियाेगिता सकिएपछि मात्रै क्लबबाट खेल्नेछन्। साफ च्याम्पियनसिप यसअघि १४-२५ सेप्टेम्बरलाई तोकिएपनि मिति केही अघि सार्ने प्रस्ताव गरिएकाे छ।
साफले अगष्टको अन्तिम साता प्रतियोगिता शुरु गरेर सेप्टेम्बर पहिलो सातामा प्रतियोगिता समापन गर्न सदस्य राष्ट्रहरुलाई प्रस्ताव गरेको हाे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।