काठमाडौं– जारी युरोकप अन्तर्गत आज (सोमबार) नकआउट चरणका दुई खेल हुँदै छन्। आज राति हुने पहिलो खेलमा स्पेन र क्रोएसियाबीच प्रतिस्पर्धा हुनेछ भने दोस्रो खेलमा फ्रान्सले स्विट्जरल्यान्डको सामना गर्नेछ।
डेनमार्कको पार्केन एरिनामा राति ९ः४५ बजे सुरु हुने पहिलो खेलमा स्पेन र क्रोएसिया दुबै टिम जित निकाल्दै क्वाटरफाइनलमा पुग्ने योजनामा हुनेछन्।
समूह ’ई’ बाट नकआउट चरणमा प्रवेश गरेको स्पेनले ३ खेलमा ५ अंक जोडेको थियो। समूह चरणको पहिलो खेलमा स्विडेनसँग गोलरहित बराबरीमा रोकिएको स्पेनले दोस्रो खेलमा पोल्याण्डसँग १–१ गोलको बराबरी खेलेको थियो। समूह चरणको अन्तिम खेलमा भने स्पेनले स्लोभाकियालाई ५–० गोल अन्तरले पराजित गरेको थियो।
समूह ’डी’ बाट अन्तिम १६ मा स्थान पक्का गरेको क्रोएसियाले ३ खेलमा ४ अंक जोडेको थियो।पहिलो खेलमा इंग्ल्यान्डसँग १–० गोल अन्तरले पराजित भएको क्रोएसिया दोस्रो खेलमा चेक रिपब्लिकसँग १–१ गोलको बराबरीमा रोकिएको थियो। समूह चरणको अन्तिम खेलमा स्कटल्याण्डमाथि ३–१ गोलको जित निकाल्दै क्रोएसिया नकआउट चरणमा पुगेको थियो।
क्रोएसिया र स्पेनबीच यो तेस्रो प्रतिस्पर्धा हो। यस अघिको खेलमा दुबै टोलीले एक /एक खेल जितेका छन्।
राति १२ः४५ बजे रोमानियाको नेसनल एरिनामा फ्रान्स र स्विट्जरल्यान्ड निकाल्दै क्वाटरफाइनलमा पुग्ने लक्ष्यका साथ मैदानमा उत्रँदै छन्।
साविक उपविजेता फ्रान्स समूह ‘एफ’ को विजेता बन्दै नकआउट चरणमा पुगेको हो। फ्रान्सले लिग चरणका ३ खेलमा ५ अंक जोडेको थियो।
पहिलो खेलमा फ्रान्सले जर्मनीलाई १–० गोल अन्तरले हराएको फ्रान्स दोस्रो खेलमा हंगेरीसँग १–१ गोलको बराबरीमा रोकिएको थियो। अन्तिम खेलमा फ्रान्स र पोर्चुगलले २–२ गोलको बराबरी खेलेका थिए।
स्विट्जरल्यान्ड भने उत्कृष्ट तेस्रो बन्दै समूह ’ए’ बाट नकआउट चरणमा पुगेको हो। समूह चरणका ३ खेलमा स्विट्जरल्यान्डले ४ अंक जोडेको थियो।
समूह चरणको पहिलो खेलमा वेल्ससँग १–१ गोलको बराबरी खेलेको स्विट्जरल्यान्ड दोस्रो खेलमा इटालीसँग ३–० ले पराजित भएको थियो। समूह चरणको अन्तिम खेलमा स्विट्जरल्यान्डले टर्कीलाई ३–१ गोल अन्तरले हराएको थियो।
फ्रान्स र स्विट्जरल्यान्डबीचको पछिल्लो नतिजा हेर्दा फ्रान्स बलियो देखिन्छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।