काठमाडाैं- जारी युराेकप २०२० प्रतियाेगितकाे उपाधि दाबेदारकाे रुपमा हेरिएकाे नेदरल्याण्ड्स अन्तिम १६ बाटै बाहिरिएकाे छ।
हंगेरिस्थित पुस्कास एरेना स्टेडियममा भएकाे खेलमा चेक रिपब्लिकसँग २–० ले पराजित हुँदै डच टाेली प्रतियाेगिताबाट बाहिरिएकाे हाे।
खेलको ५५औं मिनेटमा टोलीका मुख्य डिफेन्डर लिग्टले हातले बल रोकेपछि भिडियो असिस्टेन्ट रेफ्री (भीएआर)को सहायता लिँदै रेफ्रीले रातो कार्ड दिएका थिए।
उनले पेनाल्टी क्षेत्रभित्र लडेपछि शिकलाई राेक्ने क्रममा हातले बल रोकेका थिए। डच टोली १० खेलाडीमा समेटिएपछि चेकले दबाब सिर्जना गर्दै दुई गोल गर्न सफल भयो।
६८औं मिनेटमा चेक रिपब्लिकले होलेसको गोलमार्फत् अग्रता लियो। कर्नरमा टोमस कालासले दिएको हेडर पासलाई फार पोस्टमा अनमार्क रहेका होलेसले हेडरमार्फत् सहजै गोल गरे।
८०औं मिनेटमा चेक रिपब्लिकले अग्रता दोब्बर बनायाे। होलेसले पेनाल्टी क्षेत्रको बायाँ भागबाट दिएको पासलाई शिकले पहिलो टचमा नै गोल गर्दै चेकलाई क्वाटरफाइनल पुर्याए। उनको जारी प्रतियोगितामा यो व्यक्तिगत चौथो गोल हाे।
खेल पछि प्रतिकृया दिँदै इटालियन क्लब युभेन्टसका डिफेन्डर डी लिग्टले टिमले खेल हार्नुमा आफ्नो गल्ती रहेको स्वीकारेका छन्।
‘पक्कैपनि निकै नराम्रो लागेको छ। हामीले खेल हार्नुको मुख्य कारण नै मैले गरेको गल्ति हो। यसले गर्दा नराम्रो महसुस हभएकाे छ। त्यो नियन्त्रणमै थियो। अहिले फर्केर हेर्दा मैले त्यो बललाई बाउन्स हुन नै नदिनुपर्ने थियो जस्तो लाग्छ,’ उनले भने।
उनले रातो कार्डले नै खेल बदलिएको पनि स्वीकार गरे। ‘मलाई लाग्छ खेल हाम्रो नियन्त्रणमा नै थियो। हामीले पहिलो हाफमा केहि अवसर पनि सिर्जना गरेका थियौं। म मैदानमा लडेँ र हातले बल तान्न पुगेँ। त्यसपछि पाएकाे रेड कार्डले खेलको रुप नै बदलियो,’ उनले थपे।
उनले यस हारलाई आफूले जिम्मेवारी लिने बताएका छन्। अब चेकले क्वाटरफाइनलमा डेनमार्कको सामना गर्नेछ। डेनमार्कले शनिबार वेल्समाथि ४-० को जित दर्ता गर्दै क्वाटरफाइनलमा स्थान पक्का गरेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।