काठमाडाैं- बेल्जियम युराेकप २०२० काे क्वाटरफाइनलमा प्रवेश गरेकाे छ।
स्पेनकाे सेभियामा साेमबार बिहान भएकाे प्रि–क्वाटरफाइनलमा साविक विजेता पाेर्चुगललाई १-० ले पराजित गर्दै बेल्जियम अन्तिम ८ मा पुगेकाे हाे। याेसँगै पाेर्चुगल जारी प्रतियाेगिताबाट बाहिरिएकाे छ। विंगर थाेर्गन हाजार्डले गरेकाे गाेल नै बेल्जियमलाई जित दिलाउन प्रयाप्त बन्याे।
अब बेल्जियमले क्वाटरफाइनलमा इटालीसँग खेल्ने छ। इंग्ल्याण्डकाे वेम्बली स्टेडियममा शनिबार राति भएकाे प्रि-क्वाटरफाइनलमा अष्ट्रियालाई २-१ ले पराजित गर्दै इटाली क्वाटरफाइनलमा पुगेकाे थियाे।
हाजार्डले पहिलो हाफको ३ मिनेट बाँकी रहँदा पेनाल्टी क्षेत्र बाहिरबाट गरेको प्रहार सिधै गोल भएको थियो। थोमस मुनिएरले बायाँ विंगमा दिएकाे पासलाई थोर्गनले पेनाल्टी क्षेत्र बाहिरबाट गरेकाे प्रहार गोलरक्षक रुइ प्याट्रीसिओले बचाउन सकेनन्।
पहिलो हाफमा पोर्चुगलले लगातार आक्रमण बुनेपनि बेल्जियमको डिफेन्स निकै बलियो देखिएको थियो। दोस्रो हाफमा सुधारिएको प्रदर्शन गरेपनि पोर्चुगलले खेलमा फर्कन सकेन।
खेलकाे छैटौं मिनेटमा नै रेनातो सान्चेसले मिडफिल्डमा बल खेलाउँदै दिएको अन्तिम पास डिओगो जोटाले पेनाल्टी क्षेत्रको बायाँ भागबाट गरेको प्रहार बाहिरिएको थियो।
२५औं मिनेटमा रोनाल्डोले झन्डै २५ यार्ड टाढाबाट गरेको फ्रिकिक प्रहार गोलरक्षक थिबाउट कोर्टुवाले विफल पारेका थिए। रिबाउन्डमा जोआओ पाल्हिन्हाले हेडरलाई पोस्टतर्फ प्रहार गर्न सकेनन्।
दोस्रो हाफको सुरुवातमा नै चोटका कारण मिडफिल्डर केभिन डे ब्रुएनलाई बाहिरिएका थिए। ५४औं मिनेटमा रोनाल्डोको प्रहारलाई डिफेन्डर थोमस भर्मालेनले रोकेका थिए। ६१औं मिनेटमा जोआओ फेलिक्सको हेडर सिधै गोलरक्षक कोर्टुवाले सहजै नियन्त्रणमा लिए।
८३औं मिनेटमा राफाएल गुरेरोको प्रहार पोस्टमा लागेर फर्कंदा पोर्चुगल खेल बराबर गर्नबाट चुकेको थियो। पेनाल्टी क्षेत्रको ठिक भित्रबाट गुरेरोले गरेको प्रहारमा गोलरक्षक कोर्टुवा बिट भएपनि पोस्ट बाधक बन्याे।
८६औं मिनेटमा आन्द्रे सिल्भाको प्रहारलाई गोलरक्षक कोर्टुवाले दोस्रो प्रयासमा बचाएपछि खतरा टरेको थियो।
इन्ज्युरी समयमा फेलिक्सको प्रहार बाहिरिँदा पोर्चुगल प्रतियाेगिताबाटै बाहिरियाे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।