काठमाडौं– नेकपा एमालेले आगामी प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा बहुमत ल्याउने गरी अघि बढ्ने निर्णय गरेको छ। एमाले स्थायी समितिको आइतबार बसेको बैठकले निर्वाचनमा वामपन्थी र प्रगतिशील शक्तिसँग तालमेल गरी अघि बढ्ने निर्णयसमेत गरेको छ।
‘प्रतिनिधि सभा र प्रदेश सभा गरी दुवै तहको आगामी निर्वाचनमा एमालेले स्पष्ट बहुमत ल्याउने गरी चुनावी तयारीमा लाग्ने,’ सचिव योगेश भट्टराईले भने, ‘यसका साथै वामपन्थी र प्रगतिशील शक्तिबीच चुनावी तालमेल र सहकार्यका लागि पहल गर्ने निर्णय भएको छ।’
एमालेमा बहुमत आए पार्टीबाट बन्ने भावी प्रधानमन्त्रीको नाम पहिल्यै घोषणा गरी आगामी प्रतिनिधि सभाको चुनावमा जाने विषयमा पनि छलफल भइरहेको छ। ‘भावी प्रधानमन्त्रीको उम्मेदवार तय गरेर चुनावमा जाने विषयमा पनि पार्टीभित्र छलफल भइरहेको छ। चुनावको मनोनयनअघि नै उम्मेदवारको नाम घोषणा हुन्छ,’ भट्टराईले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।