काठमाडाैं- नेपाली राष्ट्रिय टिमकी फरवार्ड सावित्रा भण्डारी घुँडाको उपचारको लागि कतारको दोहा प्रस्थान गरेकी छिन्।
चोट लागेको झन्डै पाँच महिना लामो समयपछि घुँडाको शल्यक्रिया र रिह्याबिलिटेसनका लागि शनिबार उनी नेपाल वायुसेवा निगमको जहाजबाट कतार प्रस्थान गरेकी हुन्।
अखिल नेपाल फुटबल संघ (एन्फा) ले सावित्रालाई बुधबार नै बिदाइ गरेको थियो। सावित्राको चाहनामा एन्फाले कतारमा उनको उचारको व्यवस्था मिलाएको हो।
पछिल्लो समय एन्फाले चोट लागेका खेलाडीहरुलाई कतारमा उपचार गराउँदै आएको छ। राष्ट्रिय टिमका बिक्रम लामा र विमल घर्ती मगरको उपचार पनि कतारको अप्सटरमा भएको थियो। बिक्रम उपचारपछि नेपाल फर्किसकेका छन् भने विमल हाल कतारमै छन्।
सावित्राले घुडाँको नियमित फिजियोथेरापी गरिरहेकी छन्। सावित्राले गतवर्ष ३ फागुनमा राष्ट्रिय महिला लिग अन्तर्गत अर्काे विभागीय टोली नेपाल पुलिस क्लबविरुद्धको खेलका क्रममा दायाँ घुँडामा गम्भिर चोट बोकेकी थिइन्।
उनको दायाँ घुँडाको एन्टेरिएर क्रुसिएट लिगामेन्ट (एसीएल) मा गम्भीर चोट लागेको थियो। चोट लाग्नुअघि लिगको १० खेलमा सावित्राले ४३ गोल गरेकी थिइन्। सावित्रा लिगको उत्कृष्ट फरवार्ड चुनिएकी थिइन्।
उनले राष्ट्रिय फुटबल टोलीबाट सर्वाधिक ३८ गोल गरेकी छिन्। उपचारमा व्यस्त हुनुपर्ने भएपछि सावित्राले एएफसी महिला एसियन कप २०२२ को छनोट चरणको खेल गुमाउनेछिन्।
एएफसीले बिहीबार मात्रै वुमन्स एसियन कप छनोट चरणका खेलको ड्र सार्वजनिक गरेको थियो। जसमा नेपाल हङकङ र फिलिपिन्स समूह एफ मा छ। यस समूहको खेल नेपालमै हुने तय छ। छनोटका खेलहरु सेप्टेम्बर १३ देखि २५ सम्म हुनेछन्।
सावित्राले शल्यक्रियापछि कम्तीमा ९ महिना रेस्ट गर्नुपर्ने भएकाले पनि यो छनोट गुमाउने भएकी हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।