काठमाडाैं- फिफा विश्व वरीयतामा नेपाली महिला राष्ट्रिय फुटबल टोली एक स्थान माथि उक्लेको छ।
यसअघि अप्रिलको वरीयतामा १ सय १ मा रहेको नेपाल विश्व फुटबल महासंघ (फिफा) ले शुक्रबार जारी गरेको वरीयतामा एक स्थान उक्लिदै शीर्ष सयमा प्रवेश गरेको हो।
२०७६ मंसिरमा स्वदेशमा आयोजना भएको १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा फाइनलमा भारतसँग पराजित भएको महिला टोलीले रजत पदक जितेको थियो।
त्यसयता महिला टोलीले कुनै पनि अन्तर्राष्ट्रिय प्रतियोगिता र मैत्रीपूर्ण खेल खेलेको छैन।
दक्षिण एसियाली राष्ट्रमध्ये भारत सबैभन्दा माथि ५७ औं स्थानमा रहेको छ। बंगलादेश १ सय ३७ औं, श्रीलंका १ सय ४३ औं, माल्दिभ्स १ सय ४४ र भुटान १ सय ६१ औं स्थानमा रहेको छ।
फिफा महिला वरियताको शीर्षस्थानमा अमेरिका छ। दोस्रो स्थानमा जर्मनी, तेस्रोमा फ्रान्स, चौथोमा नेदरल्यान्ड्स र पाँचौं स्थानमा स्विडेन रहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।