काठमाडौं- काठमाडौं मेडिकल कलेज (केएमसी)ले यौनकर्मी, एचआईभी संक्रमणका पीडित तथा अनाथ बालबालिकाको निःशुल्क स्वास्थ्य उपचार गर्ने भएको छ।
माइती नेपालको सिफारिसमा आउने यौनकर्मी, एचआईभी संक्रमणका पीडित तथा अनाथ बालबालिकाहरूलाई केएमसीले निःशुल्क उपचार गर्ने सम्झौता भएको हो।
बिहीबार भएको सम्झौताअनुसार अब ‘केएमसीले माइती नेपालको सिफारिसमा यौनकर्मी, एचआईभी पीडित र अनाथहरूको निःशुल्क उपचार गर्ने केएमसीका कार्यकारी अध्यक्ष डा सुनिल शर्माले बताए। उनले यो सेवा माइती नेपालमा आवद्ध भएका सबै समुदायका लागि उपलब्ध हुनेसमेत जानकारी दिए।
माइती नेपालले घरेलु हिंसा, यौन हिंसा, मानव बेचविखन, बाल श्रम तथा महिला हक अधिकारका विषयमा काम गर्दै आएको छ।
सम्झौता अनुसार केएमसीले वार्षिक ५० लाख रुपैयाँ बराबरको निःशुल्क स्वास्थ्योपचार सेवा दिने बताइएको छ। शर्माले औषधिबाहेक अस्पतालबाट प्राप्त हुने स्वास्थ्य सेवाहरु निःशुल्क प्रदान गर्ने बताए।
माइती नेपालकी अध्यक्ष अनुराधा कोइरालाले पीडित महिला तथा बालबालिकाहरूको उपचार तथा पुनर्स्थापनामा काठमाडौं मेडिकल कलेजले देखाएको अग्रसरताको प्रशंसा गर्नुपर्ने बताइन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।