काठमाडौं- अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) को संयोजनमा बिहीबार इंग्ल्यान्डको लर्डस् मैदानमा विश्व ११ टिम र वेस्ट इन्डिजबीच मैत्रीपूर्ण टी-२० खेल हुँदैछ। खेल नेपाली समयअनुसार राति १० बजेर ४५ मिनेटमा सुरु हुनेछ।
विश्व ११ टिमको कप्तानी पाकिस्तानका शाहिद अफ्रिदीले गर्नेछन्। यसअघि तोकिएका कप्तान इयान मोर्गान घाइते भएपछि अफ्रिदीलाई कप्तानीको जिम्मेवारी दिइएको छ।
टी-२० को विश्व विजेता वेस्ट इन्डिज र विश्व ११ बीचको खेललाई आइसिसीले ठूलो महत्व दिएको छ। आइसिसीले नतिजा जस्तो आएपनि खेल हेर्न आउने दर्शकबाट उठेको पैसाको ठूलो महत्व राख्ने जनाएको छ। खेलबाट उठेको पैसा गत वर्ष वेस्ट इन्डिजमा आँधीले भत्काएको क्रिकेट मैदान निर्माणका लागि सहयोग गरिनेछ।
विश्व ११ टिममा पाकिस्तानी लिजेन्ड अफ्रिदीसँग सोएब मलिक र श्रीलंकाका टी-२० टिमका कप्तान थिसारा परेरा हुनेछन्। यसअघि बंगलादेशका सुपरस्टार सकिब अल हसनले पनि खेल्ने बताइएको थियो। तर उनले व्यक्तिगत कारणका कारण उपस्थिन हुन नसक्ने बताएपछि नेपालका युवा स्टार सन्दीप लामिछानेले मौका पाएका थिए। यस्तै अफगानिस्तानका रसिद खान पनि विश्व ११ टिममा छन्। भारतका हार्दिक पाण्ड्याले खेल्ने बताइएपनि उनको स्थानमा मोमहद सामीलाई राखिएको छ।
विश्व ११ टिममा १३ जना खेलाडी छन्। जुन बलियो टिम देखिएको छ। बंगलादेशका तिमिम एकबाल, साम बलिङ्ग्स, दिनेश कार्तिक, लुक रोची, सोएब मलिक, अफ्रिदी र परेरा टिममा हुँदा ब्याटिङ लाइन सशक्त देखिएको छ। कार्तिक, रोची र बिलिङ्ग्स तीन जना विकेटकिपर टिममा छन्। मिचेल म्याकिनघन, साम कुरान, टाइमल मिल्सले तीब्र गतिको बलिङ सम्हाल्नेछन्।
स्पिन बलिङतर्फ पनि टिममा राम्रा खेलाडी छन्। अफगानिस्तानका रासिद खान, इंग्ल्यान्डका अदिल रसिद र नेपालका सन्दीप लामिछाने विश्व ११ टिम स्पिनर हुन्। कप्तान अफ्रिदी पनि स्पिन बलिङ गर्न सक्छन्।
१३ खेलाडी मध्ये पहिलो रोजाइको ११ खेलाडी छान्न अफ्रिदीलाई गाह्रो हुने देखिन्छ। नेपालका सन्दीप लामिछानेको हकमा उनले दुई जना रसिदसँग प्रतिस्पर्धा गर्नु पर्ने देखिन्छ।
वेस्ट इन्डिज कार्लोस बाथवेटको कप्तानीमा उत्रनेछन्। उनको टिममा क्रिस गेल, आन्द्रे रसेल, इभिन लेभिस र स्यामुयल बद्री जस्ता टी-२० का स्टार खेलाडी हुनेछन्। टिममा २ वर्षअघि टी-२० विश्वकप जितेका ६ खेलाडी समावेश हुनेछन्।
विश्व ११ टिम
शाहिद अफ्रिदी (कप्तान), साम बिलिङ्ग्स, साम कुरान, तमिम एकबाल, टाइमल मिल्स, दिनेश कार्तिक, रसिद खान, सन्दीप लामिछाने, मिचेल म्याकिनघन, सोएब मलिक, थिसारा परेरा, लुक रोची, अदिल रसिद।
वेस्ट इन्डिज टिम
कार्लोस बाथवेट (कप्तान), स्यामुयल बद्री, रायद इमरित, आन्द्रे फ्रेचर, क्रिस गेल, इभिन लेविस, एस्ले नर्स, किमो पाउल, रोमान पावेल, दिनेश रामदिन, आन्द्रे रसेल, मार्लोन स्यामुयल्स, केसरिक विलियम्स।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।