काठमाडाैं- युरोपेली फुटबल महासंघ (यूईएफए)ले अर्को सिजनदेखि क्लब फुटबलको प्रतियोगितामा अवे गोलको नियम हटाउने भएको घाेषणा गरेकाे छ।
यूईएफएको कार्यसमिति बैठकले सन् १९६५ देखि प्रयोगमा आएको यस नियमलाई हटाउन आएको प्रस्तावलाई स्वीकृति दिएको हो।
यस नियमले च्याम्पियन्स लिग र युरोपा लिगको नकआउट चरणमा पटकपटक निर्णायक भूमिका खेल्दै आएको थियो। तर, याे नियम हटेसँगै खेल बराबरी भएको अवस्थामा अतिरिक्त समय र टाइब्रेकर लागु हुने यूईएफए अध्यक्ष एलेक्जेन्डर सेफेरिनले जानकारी दिए।
पछिल्लो केही सिजन च्याम्पियन्स लिगका खेलमा अवे गोलका कारण नै खेलको निर्णय हुँदै आएको छ। वायर्न म्युनिख र पेरिस सेन्ट जर्मेन (पीएसजी) बीचको खेल ३-३ को बराबरीमा सकिएकाे थियाे। तर, साविक विजेता वायर्न अवे गोलको नियममा बाहिरिएको थियो।
इटालीयन कल्ब युभेन्टस पनि पोर्टोसँग ४-४ को बराबरीमा रहेपनि अवे गोलको आधारमा बाहिरिएको थियो। त्यसअघि सन् २०१८-१९ सिजनको सेमिफाइनलमा टोटेनहमले आयाक्स आम्स्टर्ड्याममाथि अवे गोलको मद्दतले नै फाइनलमा स्थान बनाएको थियो। यसलाई केही फुटबल प्रशंसकहरुले विराेध गर्दै आएका थिए।
यता, विश्वव्यापी काेराेना महामारीको कारण इंग्लिस क्लब चेल्सी, म्यानचेस्टर सिटी र लिभरपुलकाे च्याम्पियन्स लिगका केही खेल तटस्थ मैदानमा भएकाे थियाे।
यता, युरोपा लिगमा पनि अर्सनल र म्यानचेस्टर युनाइटेड र रियल सोसिडाले सबै खेल तटस्थ मैदानमा खेलेका थिए। यसपछि अवे गाेलकाे आधारमा निर्णय गर्ने नियम परिमार्जन गर्न आग्रह गरिएकाे थियाे।
‘अवे गोलको नियम यूईएफए प्रतियोगिताको एक हिस्सा बनेकाे थियाे। तर, पछिल्लो समय हामीले यसबारे धेरै छलफल गर्यौं। यद्यपि, कसैको एकमत नभए पनि प्रशिक्षक, प्रशंसक र अन्य फुटबल सरोकारहरुसँगकाे छलफलपछि नियम हटाउने निर्णयमा गरेका हौं,’ अध्यक्ष सेफेरिनले भने।
यो नियम सबै युईएफएद्वारा सञ्चालित प्रतियोगितामा लागू हुने उनको भनाइ छ। यसले खेलमा थप रोमाञ्चकता थप्ने पनि उनले अपेक्षा गरे।
‘यस नियमले खेलहरुमा रोमाञ्चकता थप्छ। पहिला बिशेष गरेर घरेलु टोली पहिलो लेगमा विपक्षी टोलीविरुद्ध आक्रमक खेल्थे र दोस्रो लेगमा समहालिएर खेल्नेगर्थे। अब दुवै टोलीहरु आफ्नो साख जोगाउन आक्रमक भएर खेल्नेछन्,’ उनले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।