काठमाडाैं- १६औं संस्करणको युरोकप फुटबल अन्तर्गत समूह एफ को अन्तिम खेलमा पोर्चुगलका स्टार क्रिस्टियानो रोनाल्डोमाथि काेकाकाेलाकाे बाेतल प्रहार गरिएकाे छ।
हंगेरीको बुडापेस्टमा बुधबार राति भएकाे खेलमा फ्रान्सविरुद्ध २ गोल गर्दै खुसीयाली मनाइरहेका रोनाल्डोमाथि अचानक एक समर्थकले कोकको बोतल प्रहार गरेका हुन्।
५८औं मिनेटमा पेनाल्टी क्षेत्रभित्र डिफेन्डर जुल्स कुन्डेले ह्यान्ड गरेपछि राेनाल्डाेले पेनाल्टी हान्ने अवसर प्राप्त गरेका थिए। रोनाल्डोले गरेकाे प्रहार गोलरक्षक लोरिसले ठम्याउन नसक्दा गाेलमा परिणत भएकाे थियाे। त्यसपछि खेल २-२ काे बराबरीमा पुगेकाे थियाे।
साेही समय खुसीयाली बनाउन मैदानकाे छेउकाे भाग पुगेका राेनाल्डाेमाथि काेककाे बाेतल प्रहार भएकाे हाे। उनलाई कुनै चाेटपटक भने नलागेकाे बताइन्छ।
उक्त खेल बराबरी भएसँगै ४ अंक बटुलेको पोर्चुगल अन्तिम १६ मा पुगेकाे छ। पोर्चुगल भने ३ खेलमा ४ अंकसाथ तेस्रो स्थानमा रहयो। जर्मनीसँग समान अंक भएपनि हेड टु हेडमा पोर्चुगल तेस्रो भएको हो। पोर्चुगल उत्कृष्ट ४ काे तेस्रो स्थानमा रहँदै नकआउटमा पुगेकाे हाे।
यसअगाडी रोनाल्डोले हंगेरीविरुद्धको सुरुवाती खेल अघिको पत्रकार सम्मेलनका दौरानमा चर्चित पेय पदार्थ कोका कोलाको बोतल हटाउँदा यसको असर सेयर बजारमा देखिएको थियो।
पत्रकार सम्मेलनमा बोल्नुअघि रोनाल्डोले कोकको बोतल हटाएर पानीको बोतल निकालेर ‘एक्का’ भन्दै देखाएका थिए। उक्त भिडियो सामाजिक सञ्जालमा भाइरल बनेपछि कोकले युरोपेली सेयर बजारमा एक दशमलव ६ अंक अर्थात् ४ बिलियन डलर गुमाएको छ।
यसअघि कोकको एक सेयरको मूल्य ५६ दशमलव १० डलरमा किनबेच भएको थियो। उक्त घटनापछि एक दशमलव ६ अंकको गिरावट आएपछि ५५ दशमलव २२ मा कारोबार भएको थियो।
कोकको कूल मूल्य २४२ बिलियन डलरबाट घटेर २३८ बिलियन डलरमा झरेको हो। यसपछि युरोपियन फुटबल महासंघ (युईएफए) ले युरो २०२० मा सहभागी टिमका खेलाडीले पत्रकार सम्मेलनका दौरान पेय पदार्थको बोतल हटाए जरिवाना गर्ने चेतावनी दिएको थियाे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।